मोटरसाइकल र स्कुटर विक्रेताको दशैं स्कीमः सिथिल बजारमा ‘पम्प’ गर्ने प्रयास

काठमाडौं । चाडपर्व नजिकिदै गएसँगै नेपालमा दुई पाङ्ग्रे सवारीसाधन विक्रेता कम्पनीहरुले धमाधम स्कीम सार्वजनिक गरिरहेका छन् । बजारमा देखिएको तरलता समस्याले मोटरसाइकल र स्कुटर बजारमा छाएको सन्नाटाको बीच कम्पनीहरुले स्कीम घोषणा गरिरहेका छन् ।

अघिल्ला वर्षमा जस्तो रौनक नभएपनि कम्पनीहरुले आवश्यक ग्राहकको आवस्यकता पुरागर्न राम्रो फाइनान्स स्कीम दिइरहेका छन् । विगतमा जस्तो धेरै नगद छुटभन्दा यस पटक कम ब्याजदर र थोरै डाउन पेमेन्ट कम्पनीहरुको मुख्य एजेन्डा बनेको छ ।

अघिल्ला दुई वर्षको विक्रीलाई हेरेर ठूलो परिमाणमा मोटरसाइकल तथा स्कुटर आयात गरेर बसेका कम्पनीहरुसँग अहिले करिब ५ देखि १० महिनासम्म विक्री गर्न पुग्ने स्टक रहेको ब्यवसायीहरु नै बताउन थालेका छन् ।

‘अघिल्ला वर्षहरुमा दैनिक विक्री हुने मोटरसाइकलको २० प्रतिशत पनि अहिले विक्री छैन । विक्री नभएपछि अहिलेको स्टकले धेरै समय धान्ने अवस्था छ’, एक विक्रेताले भने ।

सिथिल बजारमा ‘पम्प’ गर्न सकिन्छ कि भनेर कम्पनीहरुले फाइनान्स स्कीममा काम गरेका छन् । त्यसले कस्तो परिणाम ल्याउँछ त्यो हेर्न भने केही दिन अझै कुर्नु पर्ने हुन्छ ।

होन्डा

स्याकार ट्रेडिङ कम्पनीले ‘होन्डाको दशैंको शुभ लाभ’ नामक आकर्षक स्कीम सार्वजनिक गरको छ । कम्पनीको यस योजनामा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले स्क्रयाच मार्फत ७० हजार रुपैयाँसम्म जित्न सक्नेछन् । साथै, अघिल्लो वर्षमा जस्तै सातै प्रदेशबाट लक्की ड्रमार्फत सात जनाले १ लाख रुपैयाँको दरले जित्न सक्नेछन् ।

होन्डाले बम्पर उपहारमा देशभरबाट एक जना भाग्यशाली ग्राहकलाई नगद १५ लाख रुपैयाँ जित्ने अवसर प्रदान गरेको छ । होन्डाले नयाँ स्कीमसँगै सहजै फाइनान्स तथा एक्सचेन्ज सुविधासमेत उपलब्ध गराउने छ ।

बजाज

बजाज मोटरसाइकलको आधिकारिक विक्रेता कम्पनी हंशराज हुलास चन्द एण्ड कम्पनीले आधाको आधा मूल्यमा मोटरसाइकल स्कीम सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको स्कीममा ग्राहकले यसअघि ५० प्रतिशत डाउन पेमेन्टमा पाइने मोटरसाइकल अहिले २५ प्रतिशत डाउन पेमेन्टमा दिने भनेको हो ।

मासिक किस्तामा मोटरसाइकल किन्ने ग्राहकलाई कम्तीमा २५ प्रतिशत डाउन पेमेन्ट र नगदमा मोटरसाइकल किन्ने ग्राहकलाई ७ हजार नगद छुट दिने कम्पनीले जनाएको छ ।

यामाहा

यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी एमएडब्लू इन्टरप्राइजेजले ‘यामाहा फेस्टिभ ह्याट्रिक’ योजना सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार ‘यामाहा फेस्टिभ ह्याट्रिक’ अन्तर्गत यामाहाको कुनै पनि बाइक वा स्कुटरमा खरिद गर्दा तत्कालै ६ हजार नगद जित्न सक्नेछन् । यस्तै ‘फिफा विश्वकप २०२२’ लाई समेत लक्षित गर्दै लक्की ड्रमार्फत हरेक दिन ३ जनाले हाइसेन्सको ५० इन्चको स्मार्ट टिभी जित्न सकिने स्कीम ल्याएको हो । साथै, यामाहाको बाइक वा स्कुटर खरिद गर्न चाहने ग्राहकहरूले मात्र ३० मिनेटमा सबै वित्तीय प्रक्रियाहरू पूरा गरी स्कुटर तथा मोटरसाइकल खरिद गर्न सक्ने योजना ल्याएको छ ।

टीभीएस

टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले आउँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै २० प्रतिशत डाउन पेमेन्ट वा ४२०० रुपैयाँ मासिक किस्तामा मोटरसाइकल र स्कुटर किन्न पाइने ‘कायापलट’ नामक विशेष योजना सार्वजनिक गरेको छ । कम्पनीले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार जित्न सक्ने छन् । यो योजनामा ग्राहकले कम्पनीको वेभसाइटमा लगइन गरेर एक लाखसम्म र मोटरसाइकल खरिद गरेर १० लाखसम्म जित्ने मौका पाउने छन् ।
हरेक दिन योजना बारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई रियलमी सी ३० स्मार्टफोन प्रदान गरिने छ । साथै, हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार ५० लाख नगद पुरस्कार दिने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

हिरो

नेपाल जनरल मार्केटिङ प्रालिले आउँदै गरेको दशैंको लागि लक्षित गरेर ‘आहा दशै चाडपर्वको उमङ्ग, हिरो चढी दंङ्ग’ नामक स्कीम सार्वजनिक गरेको छ । यस पटकको दशैं स्कीम सबैभन्दा पहिला ल्याउने ब्राण्ड नै हिरो हो ।
कम्पनीले ल्याएको यो योजनामा नगद छुट, स्क्रयाच कार्ड, लक्की ड्र तथा फाइनान्सका विभिन्न स्कीम रहेको छ । आहा दशैं योजनामा ग्राहकले मोटरसाइकल खरिद गर्दा स्योरसट ७ हजार ५०० रुपैयाँ प्राप्त गर्नेछन् । ग्राहकले स्क्रयाचमार्फत नगद १ लाख रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् भने लक्की ड्रमार्फत १ लाख जित्न सक्नेछन् । साथै, यस योजना अन्तर्गत ग्राहकले शून्य प्रतिशत डाउन पेमेन्टमा हिरोका मोटरसाइकल तथा स्कुटरहरु खरिद गर्न सक्नेछन् ।

सुजुकी

भिजी सुजुकीले ‘दशैंको धनराशी’ स्कीम सार्वजनिक गरेको छ । साथै, सुजुकी महा एक्सचेन्ज अफर पनि ग्राहकले पाउने टन् । यो स्कीममा ग्राहकले आफ्नो कुनैपनि पुरानो मोटरसाइकलसँग सुजुकीको नयाँ मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न सक्नेछन् । यो योजना अन्तर्गत कम्पनीले ग्राहकको पुरानो मोटरसाइकलको बजार मूल्याङ्कनमा १२ हजार थप मूल्य दिने जनाएको छ । यो स्कीममा ग्राहकले सजिलै फाइनान्स सुविधासमेत प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै दशै स्कीम अन्तर्गत ग्राहकले मोटरसइकल तथा स्कुटर खरिद गर्दा १० हजार रुपैयाँ नगद छुट तथा तथा १ वर्षको वार्षिक कर उपलब्ध गराउने कम्पनीले जनाएको छ ।


Back_to_top