काठमाडौं । टाटा मोटर्सले दुई पेट्रोल इन्जिन तयार गरेको छ । कम्पनीले १.२ लिटर र १.५ लिटर टर्बोचार्ज्ड ग्यासोलिन, डाइरेक्ट इन्जेक्सन (टीजीडीआई) इन्जिन तयार गरेको हो ।
यी दुबै इन्जिन भारतीय प्रदुषण मापदण्ड ‘बीएस सिक्स, टु प्वाइन्ट जीरो’मा आधारित रहेको छ । त्यसैले यी दुबै इन्जिनमा २० प्रतिशत इथानल मिसाएर चलाउन सकिन्छ ।
टाटाले यी दुई इन्जिन प्रयोग हुने नयाँ मोडलको पनि जानकारी दिएको छ । कम्पनीका अनुसार १.२ लिटर टर्बो इन्जिन कर्भ कुप्पेमा प्रयोग हुनेछ । यसलाई सन् २०२४ मा बजारमा ल्याउनेगरी टाटाले काम गरिरहेको जानकारी दिएको छ ।
त्यसैगरी १.५ लिटर टर्बो इन्जिन सिएरा एसयूभीमा प्रयोग हुनेछ । यसलाई भने सन् २०२५ मा मात्रै बजारमा ल्याउनेगरी काम भइरहेको टाटाको भनाई छ । टाटाले ल्याउने यी दुबै मोडल पेट्रोल र इलेक्ट्रीक भर्सनमा एकसाथ आउने छन् ।
टाटाले यी दुबै इन्जिनको निर्माणमा आल्मुनियमको प्रयोग गरेको छ । अहिलेको इन्जिनको तुलनमा राम्रो पर्फमेन्स र राम्रो माइलेज पाउने कम्पनीको दावी छ । यसमा प्रयोग भएको टर्बोचार्ज्ड वाटर कुलिङ टेक्नोलोजीमा आधारित रहेको छ ।
टाटाले अहिले नेक्सनमा प्रयोग गरिरहेको इन्जिन पनि टर्बो १.२ लिटर हो । तर, टीजीडीआई १.२ लिटर इन्जिनले नेक्सनको भन्दा धेरै पावर प्रदान गर्छ । नयाँ थ्री सिलिण्डर इन्जिनले अधिकतम ५००० आरपीएममा १२५ हर्सपावर र १७०० देखि ३५०० आरपीएममा २२५ एनएम टर्क प्रदान गर्छ । यसको टर्क ५५ एनएमले बढी हो ।
सिएरा मोडलमा प्रयोग हुने भनिएको १.५ लिटर, फोर सिलिण्डर, टर्बो पेट्रोल इन्जिन त्यसअघि नै ह्यारीयर फेसलिफ्ट र सफारी फेसलिफ्टमा प्रयोग हुने अनुमान गरिएको छ । यो इन्जिन पनि निकै पावरफुल रहेको छ । यसले अधिकतम ५००० आरपीएममा १७० हर्सपावर र २००० देखि ३५०० आरपीएममा २८० एनएम टर्क प्रदान गर्छ ।

