काठमाडौं । एयर इन्डिया लिमिटेडले बोइङ र एयरबस सहित ५४० वटा विमान खरिद गर्ने भएको छ । यो निर्णय भारतको विमान खरिदको इतिहासमा विश्वको सबैभन्दा ठूलो उड्डयन सम्झौता हो ।
सार्वजनिक भएको एक रिपोर्ट अनुसार कम्पनीले ८२ बिलियन डलर बराबरको लामो र छोटो दुरीको लागि उपयुक्त हुने विमान खरिद गर्ने तयारी गरेको छ ।
यस सम्झौता अनुसार कुल ५४० विमान मध्ये ४७० फर्म अर्डर रहेको छ भने बाँकी ७० वटा बोइङका विकल्प छन्। त्यसैगरी, ४७० विमानमा २५० एयरबस र २२० बोइङ विमान रहेका छन् । यी विमानको पहिलो चरणको अवतरण यसै वर्षको अन्त्यमा हुने बताइएको छ ।
एयर इन्डिया अघि सबैभन्दा ठूलो विमानकाे अर्डर २०११ मा अमेरिकन एयरलाइन्सले गरेको थियो । कम्पनीले ४६९ विमान लिने सम्झौता गर्दै रेकर्ड बनाएको थियो ।
एयर इन्डियामा हाल ११३ विमान छन् । कम्पनीको फ्लिटमा हाल एयर एसिया इन्डियाका २८ विमान, भिस्टारा ५४ र एयर इन्डिया एक्सप्रेसका २४ जेट समेत रहेका छन् ।


