जिहो एई-८ इलेक्ट्रीक स्कुटरको बुकिङ खुल्यो, मूल्य झण्डै ५ लाख

काठमाडौं । सीएफ मोटोको उत्पादन जिहो इलेक्ट्रीक स्कुटर नेपाल भित्रिएको छ । सीएफ मोटोको आधिकारिक वितरक अन्ना इन्टरनेशनलले जिहो ब्रान्डको इलेक्ट्रीक स्कुटर नेपाल भित्र्याएको हो ।

जिहो एई-८ नेपाल भित्रिएसँगै कम्पनीले यसको बुकिङ खुला गरेको हो ।

जिहो एई-८ खरिद गर्न चाहाने ग्राहकले नक्सालस्थित शोरुमबाट बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ । ग्राहकले २० हजार रुपैयाँ बुझाएर एई-८ बुकिङ गर्न सक्ने छन् । आगामी बैशाखदेखि यसको डेलिभरी सुरु हुने कम्पनीले जनाएको छ ।

कम्पनीले जिहो एई-८ को मूल्य ४ लाख ९० रुपैयाँ निर्धारण गरेको छ ।

अन्ना इन्टरनेशनलले नयाँ कम्पनी रिलायन्स ग्रुपसँगको सहकार्यमा सीएफ मोटरसाइकल तथा जिहो इलेक्ट्रीक स्कुटर विक्री गर्ने भएको हो ।

चिनियाँ कम्पनी जिहोको उत्पादन एई-८ एग्रेसीभ मस्कुलर डिजाइनमा रहेको छ । यो स्कुटरको फ्रन्टमा ठूलो फेन्डर दिइएको छ । यसले स्कुटरको फ्रन्ट टायरसम्मै ढाकेको छ । यसको साइड प्यानलमा नौलो डिजाइनको टर्न इन्डिकेटर दिइएको छ । त्यस्तै रियरमा आकर्षक एलइडी ब्रेक लाइट पाउन सकिन्छ ।

कम्पनीले नेपालमा विक्री सुरु गर्ने तयारी गरेको एई-८ स्कुटरमा ५ किलोवाट क्षमताको लिक्वीड कुल्ड मोटर रहेको छ । यसले २१८ एनएम टर्क जेनेरेट गर्छ भने १६.७ हर्सपावर जेनेरेट गर्छ । जुन २०० सीसी सेग्मेन्टको मोटरसाइकल बराबरको पावर हो ।

यसको टप स्पीड क्षमता १०० किलोमिटर प्रतिघण्टा रहेको छ । यो स्कुटले ०-५० को स्पीड मात्र २.६ सेकेन्डमा भेट्टाउने छ । यसमा रिमुभ एबल लिथियम आयोन डबल ब्याट्री अप्सन दिइएको छ । आइडियल कन्डिसनमा स्कुटरलाई एक पटकको फुल चार्जमा १६० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दाबी छ ।

स्कुटरलाई फुल चार्ज गर्न ६ घण्टा समय लाग्नेछ । यसमा फास्ट चार्जिङको सुविधासमेत उपलब्ध छ । यो स्कुटर नेपालमा नै पहिलो एबीएस भएको स्कुटर हुनेछ । जिहो एई-८ मा डबल च्यानल एबीससहितको डिस्क ब्रेक उपलब्ध रहेको छ ।

यो स्कुटरमा ५ इन्चको एलसीडी कर्भ इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ । त्यस्तै यसमा तीन राइड मोड, एडप्टीभ हेडल्याम्प, डिस्र्टबेन्स अर्लाम, एन्टि थेफ्ट अर्लाम, स्मार्ट कनेक्ट जस्ता फिचर उपलब्ध छन् ।


Back_to_top