प्रतिस्पर्धामा ३ इलेक्ट्रीक एसयूभी, मूल्य र फिचरमा कति फरक ?

काठमाडौं । नेपालमा एसयूभीको चर्चापछि ईभीले चर्चा तिब्रगतिमा भइरहेको छ । गाडी ब्यवसायी नै ग्यासोलीन इन्जिन भएका गाडीको माग अत्यन्त न्यून रहेको बताउने गरेका छन् ।

पछिल्लो बजेटले १०० किलोवाट माथिका ईभीमा भन्सार र अन्तःशुल्क वृद्धि भएसँगै केही दिन अबको बजार कस्तो हुने भन्ने चर्चा चल्यो । तर, यो सेग्मेन्टमा गाडी बिक्री गर्दै आएका कम्पनीहरु मध्ये अधिकांशले ५० हजारदेखि १ लाखसम्म मूल्य बढाए ।

सरकारले बढाएको १५ प्रतिशत करको असरले ५ देखि ७ लाखसम्म एउटै एसयूभीमा मूल्य बढ्ने अनुमान गरिएको थियो । तर, कम्पनीहरुले अधिकतम २ लाख ५० हजारसम्म मात्रै मूल्य बढाएका छन् ।

सरकारले बढाएको करपछि आयातकर्ताहरुले उत्पादकसँग सहयोग लिएर होस् वा आफ्नो मार्जिन कम गरेर होस्, नयाँ मूल्य निर्धारण जुनसुकै तरिकाले गरेपनि ग्राहकले भने राहत नै पाएको मान्न सकिन्छ ।

नेपाली बजारमा ४५ देखि ५५ लाख सेग्मेन्टमा रहेको एसयूभी ईभीको धेरै माग रहेको छ । ४० देखि ५० किलोवाटको ब्याट्री रहेको र ३ सय किलोमिटर माथिको रेन्ज दिने एसयूभी धेरैको रोजाईमा पर्छ ।

यस्तोमा टाटा नेक्सन म्याक्स, एमजी जेडएस ईभी र बीवाइडी एटो ३ एड्भान्स मोडल बीच प्रतिस्पर्धा बढ्ने देखिन्छ । बीवाइडीले एटो ३ मा ४९.९२ किलोवाट आवरको ब्याट्री सहितको मोडल बजेटपछि मात्र नेपाल ल्याउने घोषणा गरेको हो । कम्पनीले यसको मूल्य ५५ लाख ९० हजार राखेको छ ।

त्यस्तै बजेट अगाडि ५२ लाख ४९ हजार रुपैयाँ रहेको जेडएस ईभी डिलक्सको मूल्य बजेटपछि ५० हजार बढेर ५२ लाख ९९ हजार भएको छ ।

टाटा मोटर्सले सुरुमा नेपाल ल्याउदाको मूल्यलाई परिवतएन गरी नेक्सन म्याक्स मोडलमा २ लाख ५० हजारले समायोजन गरेको जनाएको छ । अब नेक्सन म्याक्सको मूल्य ४८ लाख ९९ हजार पुगेको छ । मूल्यको आधारमा नेक्सन म्याक्स जेडएसभन्दा ४ लाख र बीवाइडी एटो थ्रीभन्दा ७ लाख सस्तो रहेको छ ।

ब्याट्री तथा मोटर पावर

नेक्सन ईभी म्याक्स, एटो३ एड्भान्स तथा एमजी जेडएस ईभी लग्जरीमा क्रमश १०० किलोवाट, १०० किलोवाट र ९९ किलोवाटको मोटर छ । एटो ३ मा रहेको १०० किलोवाटको मोटरले १३४ हर्स पावर तथा ३१० न्यूटन मिटरको टर्क जेनरेट गर्छ ।

त्यस्तै टाटा नेक्सन ईभी म्याक्समा रहेको १०० किलोवाटकै मोटरले १२७ हर्सपावर तथा २५० न्यूटन मिटरको टर्क जेनरेट गर्छ । एमजीको जेडएस ईभीमा रहेको ९९ किलोवाटको मोटरले भने १३३ हर्सपावर तथा २८० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । पावर र टर्कको आधारमा बीवाइडीको एटो ३ थोरै अगाडि देखिन्छ ।

ब्याटीको तुलना गर्दा एटो ३ मा व्लेड टेक्नलोजीको ४९.९२ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री छ । त्यस्तै टाटाको नेक्सन म्याक्समा पनि ४०.९२ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री नै छ । तर, एमजीको जेडएसमा भने ५१.१ किलोवाट आवरको निकेल म्याग्नेसीस कोवाल्ट ब्याट्री रहेको छ ।

गाडीको साइज

बीवाईडी एटो ३, नेम्सन म्याक्स र एमजी जेडएस मध्ये लम्बाई र चौडाई एटो ३ को धेरै छ । उचाईमा भने एमजी जेडएस अगाडि छ । एटो ३ को ४४५५ एमएम लम्बाई, १८७५ एमएम चौडार्ई र १६१५ एमएम उचाई तथा २७२० एमएमको ह्वीलवेस छ ।

त्यस्तै एमजीको जेडएस ईभीको ४३२३ एमएम लम्बाई, १८०९ एमएम चौडाई र १६४९ एमएम उचाई छ । यसमा २५८५ एमएमको ह्वीलवेस छ ।

टाटा नेक्सन म्याक्सको लम्बाई ३९९३ एमएम, चौडाई १८११ एमएम र उचाई १६१६ एमएम छ । यसमा २४९८ एमएमको ह्वीलवेस छ ।

एटो ३ मा १७५ एमएम ग्राउण्ड क्लियरेन्स छ । टाटा नेक्सन म्याक्समा १९० एमएम तथा एमजीको जेडएस ईभीमा १७७ एमएमको ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । यो सेग्मेन्टमा सबैभन्दा धेरै ग्राउण्ड क्लियरेन्स टाटा नेक्सन म्याक्समा पाउन सकिन्छ ।

समान ५ वटा ढोका र ५ सिट क्षमता भएको यी तीनैवटा एसयूभी मध्य सबैभन्दा धेरै बुट स्पेश भने एमजीको जेडएस इभीमा रहेको छ । एमजीको जेडएस इभीमा ४४८ लिटरको, एटो३ मा ४४० लिटर र नेक्सनमा ३५० लिटर क्षमताको बुट स्पेश छ ।

अन्य फिचर

तीनैवटा एसयूभीमा अगाडि र पछाडिको सबै चक्कामा डिस ब्रेक पाउन सकिन्छ । सबैमा अलोय ह्वील छ । एटो ३ एड्भान्स र एमजी जेडएसमा १७ इन्चको टायर रहेको छ भने नेक्सनमा १६ इन्चको टायर साइज पाउन सकिन्छ ।

सुरक्षाका लागि यी ३ वटै एसयूभी एनक्याव सेफ्टी रेटिङमा ५ स्टार पाउन सफल मोडल हुन् । एटो ३ मा ७ वटा एयरव्याग छ भने जेडएस ईभीमा ६ एयरव्याग पाउन सकिन्छ । टाटा नेक्सन ईभी म्याक्समा भने ड्राइभर र प्यासेन्जर साइडमा एक एकवटा एयरव्याग रहेको छ ।

तीनवटै ईभीमा टायर प्रेशर मोनिटरिङ सिस्टम, एबीएस, इबीडी, ब्रेक असिस्ट, इएसपी, हिल होल्ड कन्ट्रोल, ट्राक्सन कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता सुुरक्षा फिचर छन् ।

एटो थ्रीको ड्यासबोर्डमा १२.८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, सिंगल कलर एम्बियन्ट क्यावीन लाइट, लेदरेट सिट, ३६० डिग्री क्यामरा, अटोमटिक क्लाइमेट कन्ट्रोल, ६ वटा स्पीकर, क्रुज कन्ट्रोल, वायरलेस एण्डरोइड अटो तथा एप्पल कार प्ले पाउन सकिन्छ ।

त्यस्तै जेडएस ईभीमा वायरलेस मोवाइल चार्जर, पीएम २.५ एयर फिल्टर, क्रुज कन्ट्रोल, १०.१ इन्चको इन्फोटेन्मेन्ट डिस्प्ले, ६ वटा स्पीकर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, लेदरेट भेन्टीलेटेड सिट, ३६० डिग्री क्यामेरा, एमजी पाइलट जस्ता फिचर छन् ।

टाटा नेक्सन ईभी म्याक्समा इलेक्ट्रीक पार्किङ ब्रेक, ७ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रियर एसी भेन्ट, कुल्ड ग्लोब बक्स, लेदरेड भेन्टीलेटेड सिट, वायरलेस मोवाइल चार्जर, एयर प्यूरीफायर, क्रुज कन्ट्रोल पाउन सकिन्छ ।

टाटा नेक्सन म्याक्समा सिंगल प्यानल सनरुफ रहेको छ भने, एटोथ्री र जेडएस ईभीमा प्यानारोमिक सनरुफ पाउन सकिन्छ ।


Back_to_top