काठमाडौं । दुईपाँग्रे मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी बजाज अटोले दुई नयाँ इलेक्ट्रीक स्कुटर बजारमा ल्याउने तयारी थालेको छ । कम्पनीले स्वींगर र जिनी नाम राखेर पेटेन्टका साथै ट्रेडमार्कसमेत दर्ता गराएको हो ।
कम्पनीले दर्ता गराएको दुवै नाम इलेक्ट्रीक स्कुटर सेग्मेन्टको हुने अनुमान गरिएको छ । तर, कम्पनीले डिजाइन बिनै पेटेन्ट दर्ता गराएको कारण मोटरसाइकल वा स्कुटर जुनै पनि हुन सक्नेछ ।
बजाजले पेटेन्ट र ट्रेडमार्क दर्ता गराएसँगै भारतीय मिडियाहरूमा यस विषयले चर्चा पाउन थालेको छ ।
यसअघि बजाज अटोले ओरा, ह्यामर, रेसर जस्ता नाममा ट्रेडमार्क दर्ता गराएको थियो । पहिलेको ट्रेडमार्क दर्ता भए पनि यी नाममा कुनै पनि सवारी साधन उत्पादन भएको पाइँदैन ।
स्वींगर र जिनी कम्पनीले कहिले सम्म बजारमा ल्याउने बारेमा केही जानकारी बाहिर नल्याएको भएता पनि भारतीय मिडियाहरूका अनुसार यी दुई मोडल कम्पनीले निकट भविष्यमै बजारमा ल्याउने अनुमान गरिएको छ ।
कम्पनीले इलेक्ट्रीक साधनको रूपमा पेटेन्ट र ट्रेडमार्क थुप्रै दर्ता गराइए पनि इलेक्ट्रीक सेगमेन्टमा भने हाल चेतक उत्पादनमा रहेको छ ।
यस्तो छ बजाजको चेतक इलेक्ट्रीक स्कुटर
कम्पनीले ल्याएको पहिलो इलेक्ट्रीक स्कुटर चेतकमा राउन्ड हेडल्याम्पसँगै हर्ष सुज सेप एलइडी डीआरएलएस ल्याम्प दिएको छ । यसमा, एप्रोन माउन्टेड एलईडी साइड टर्न इन्डिकेटर लगाइएको छ भने, फक्स एयरभेन्ट जोडिएको छ ।
चालकले आफ्नो स्मार्टफोनमा स्कुटर नेक्ट एप जोड्न सक्ने छन् । यसले, मोबाइलमा आएको कल, म्यासेज नोटिफिकेशन, टर्न वाइ टर्न नोटिफकेशन डिस्प्लेमा देखाउने गर्छ ।
चेतकमा ४ किलोवाटको इलेक्ट्रीक मोटर दिइएको छ । साथै, यसमा वाटर र डस्ट प्रुफ आइपी ६७ ब्याट्री प्याक लगाइएको छ । ५।१५ एम्पियर विद्युत क्षमता भएको हाउस होल्ड चार्जरबाट ब्याट्री चार्ज गर्न सकिने छ । यसले एक पटकको चार्जमा ९५ किलोमिटरसम्म रेञ्ज प्रदान गर्छ ।


