काठमाडौं । विश्व चर्चित जर्मन कार निर्माता फक्सवागेनले चीनमा आफ्नो इलेक्ट्रीक ह्याचव्याक कार आईडी-३ को मूल्य व्यापक कटौती गरेको छ । केही समयको लागि भनेर घटाइएको मूल्य यूरोपको तुलनामा आधा कम बनाइएको हो ।
फक्सवागेन आईडी-३ को चीनमा नयाँ मूल्य १७ हजार ४३४ डलरबाट तोकिएको छ । जबकी यसको पूरोपियन बजारमा सुरुवाती भेरियन्टको मूल्य ३४ हजार ७०० डलर रहेको छ ।
चिनियाँ बजारमा ईभीको मूल्य तिब्र गतिमा घटिरहेको छ । चीनमा घट्दो ईभीको मूल्यलाई चासो देखाउँदै चीनको उद्योग मन्त्रालयले सबै उत्पादकलाई बोलाएर यसरी मूल्य घटाउने प्रतिस्पर्धा रोक्न निर्देशन दिएको थियो । जुलाई ६ तारिखमा भएको उक्त छलफलमा १६ कम्पनीले अस्वस्थ प्रतिस्पर्धा हुनेगरी ईभीको मूल्य नघटाउने सम्झौंतामा हस्ताक्षर नै गरेका छन् ।
अन्य ब्राण्डको तुलनामा फक्सवागेनको मूल्य निकै महंगो भएको कारण कम्पनीले बाध्य भएर मूल्य घटाउनु परेको जनाएको छ । केहि समयदेखि चीनमा बीवाइडी र टेस्लाले आक्रमक बजार बिस्तार गरिरहेका छन् ।
फक्सवागेनसँग चीनमा बिक्री हुने ईभीको ३ प्रतिशत मात्रै बजार हिस्सा छ । जबकी टेस्लाको ९ प्रतिशत र बीवाइडीको २४ प्रतिशत बजार हिस्सा पुगिसकेको छ ।
नयाँ मूल्यपछि फक्सवागेन आईडी-३ टेस्लाको मोडल-३ भन्दा निकै सस्तो भएको छ । तर, आईडी-३ बीवाइडी डल्फीनभन्दा अझै महँगो छ । चीनमा बीवाइडी डल्फीनको सुरुवाती मूल्य १६ हजार डलर रहेको छ ।
चीनमा एसएआईसीसँगको सहकार्यमा फक्सवागेन आईडी-३ उत्पादन भइरहेको छ । कम्पनीले यसमा ५७.३ किलोवाट आवरको ब्याट्री दिएको छ । डब्लुएलटीपीको परिक्षण अनुसार यसले सिंगल चार्जमा ३४८ किलोमिटर रेन्ज प्रदान गर्छ ।
रियर ह्वील ड्राइभ सिस्टम भएको आईडी-३ मा रहेको मोटरले १७० हर्सपावर प्रदान गर्छ । यो कार जम्मा ७.६ सेकेन्डमा शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको स्पीडमा गुड्न सक्छ ।

