काठमाडौं । नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालले आयोजना गर्ने ‘नाडा अटो शो २०२३’को लागि स्टल बुकिङ आगामी शुक्रबारबाट खुल्ने भएको छ ।
यस वर्षको अटो शो आगामी भदौ २६ गतेदेखि असोज २ गतेसम्म संचालन गर्ने विषयमा नाडाले यसअघि नै निर्णय गरिसकेको कारण अब भने बुकिङ खुल्ला गर्न लागेको हो ।
ग्लोबल एक्सपोजिसन नेपाल (जेम्स नेपाल) सहआयोजक रहने नाडा अटो शो २०२३ मा सहभागी हुन चाहने अटोमोवाइल कम्पनीहरुले असार २९ गतेदेखि साउन २ गतेसम्म स्टल बुकिङ गर्न सक्नेछन् ।
‘हामीले सन् २०१९ पछि पहिलो पटक पूर्ण क्षमताको नाडा अटो शो २०२३ आयोजना गर्दैछौं । यसमा सहभागी हुन इच्छुक फर्मले साउन २ गते मंगलबारसम्ममा स्टल बुकिङ गराउनु पर्ने छ’, जेम्स नेपाल स्रोतले मेरोअटोसँग भन्यो ।
स्टल बुकिङमा पहिला बुकिङ गर्नेलाई पहिलो प्राथमिकता दिने नीति आयोजकले बनाएको छ । यद्यपि, पहिला बुकिङ गर्नेले आफुले रोजेको स्थान भने पाउने छैन । विगतदेखि नै नाडाले स्टल बाँडफाँड गोला प्रथाद्धारा गर्दै आएको थियो । यसपटक पनि गोला प्रथाद्धारा नै स्टल बाँडफाँड हुनेछ ।
आयोजकले अहिले २५/२६ वटा फोर ह्वीलर्स ब्राण्ड र २२/२३ वटा टु ह्वीलर्स ब्राण्डको सहभागिता रहने अपेक्षा गरेको छ । यस पटक विद्युतीय साधनको लागि भने छुट्टै पेभिलियन रहने छैन ।

