काठमाडौं । केहि समय अघि चिनियाँ विद्युतीय कार निर्माताले सरकारी अनुदान लिन र लगानीकर्तालाई धेरै संख्यामा कार बिक्री भएको सन्देश दिन गाडी दर्तापछि ‘डम्प’ गरेको भिडियो सार्वजनिक भएको थियो । चीन सरकारको लचिलो नीति र अनुदान रकमले लोभ्याएर चीनमा १०० औं ईभी बनाउने स्टार्टअप कम्पनी खुले ।
स्टार्टअप कम्पनीहरु सबै सफल हुन्छन् भन्ने हुँदैनन् । चीनमा जुलाई १ तारिखबाट एउटा ठूलो संभावना भएको स्टार्टअप कम्पनी ‘बाइटन’ले बैंकरप्सी फाइल गर्दै आफ्नो सबै अपरेशन बन्द गर्ने निर्णय गरेको छ ।
पछिल्ला केही महिनामा आफ्नो अप्रेसन बन्द गर्ने बाइटन ठूलो स्टार्टअप कम्पनी हो । यस कम्पनीमा एक हजारभन्दा बढि कर्मचारीहरु कार्यरत थिए । कम्पनीले थप लगानी जुटाउन नसकेपछि बाध्य भएर आफ्नो संचालन बन्द गरेको हो ।
बाइटनको उत्पादक कम्पनी नान्जिङ जीयाछाइसी न्यू इनर्जी भेहिकल टेक्नलोजी डेभलपमेन्ट कम्पनी लिमिटेड र नान्जीङ जीयाछाइसी इलेक्ट्रीक भेहिकल कम्पनी लिमिटेडले जुन १४ तरिखमा बैंकरप्सी फाइल गरेका थिए ।
कम्पनीले सन् २०१९ को फ्याङकफर्ट मोटर शोमा आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी ‘एम बाइट’ देखाएको थियो । सन् २०१९ कै अक्टुबरमा कम्पनीले नान्जिङमा नयाँ प्रोडक्सन प्लान्ट स्थापना गरेको थियो ।
कम्पनीले एम बाइटन मोडलको बुकिङ ५० हजारभन्दा धेरै रहेको बताउँदै चाँडै प्रोडक्सन मोडल बजारमा ल्याउने जनाएको थियो ।

