काठमाडौं । सिट्रोन सीथ्री इलेक्ट्रीक नेपाल प्रबेश गरेको छ । बिरगंज भन्सारबाट नेपाल ल्याइएको सीथ्री इलेक्ट्रीक बिहिबार साँझसम्म काठमाडौं ल्याउने तयारी भइरहेको साँग्रिला मोटर्सले जनाएको छ ।
यसअघि नै कम्पनीले १०० सीथ्री इलेक्ट्रीक यूनिट बुकिङ भएको जनाएको थियो । धेरै ग्राहकले टेष्ट ड्राइभपछि निर्णय लिनेभन्दै बुकिङ गरेका थिएनन् । त्यसैले कम्पनीले चाँडाभन्दा चाँडो सीथ्री नेपाल ल्याएको हो ।
‘सीथ्री इलेक्ट्रीक कुरेर धेरै ग्राहक बस्नु भएको छ । हामी काठमाडौं ईभी आइपुग्ने वित्तिकै टेष्ट ड्राइभ सुरु गर्नेछौं’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।
कम्पनीले सिट्रोन सीथ्री इलेक्ट्रीकको सुरुवाती भेरियन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकेर बुकिङ लिएको थियो । यसको टप भेरियन्टको मूल्य भने ३४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
यसअघि बुकिङ गर्न चाहने ग्राहकसँग १ लाख रुपैयाँसम्म ‘टोकन मनी’ लिएर सिट्रोन सीथ्री बुकिङ लिइएको कम्पनीले जनाएको छ ।
सिट्रोनको ई–सीथ्रीमा २९.२ किलोवाट आवरको लिथियम आयन फोस्फेट ब्याट्री प्याक रहेको छ । फ्रन्टह्वील ड्राइभ सिट्रोन सीथ्रीमा रहेको मोटरले ५७ हर्सपावर तथा १४३ एनएमको टर्क जनेरेट गर्छ ।
सिट्रोन ई–सीथ्रीको मोटरले यसलाई ६.८ सेकेन्डमा शून्यबाट ६० किलोमिटर प्रतिघण्टाको स्पीडमा गुडाउन सक्छ । यो ईभीको टप स्पीड क्षमता १०७ किलोमिटर प्रतिघण्टा छ । सिट्रोन ई–सीथ्रीमा रिजेनेरेटीभ ब्रेकिङ सिस्टमसहित इको र स्ट्याण्डर्ड गरी दुई ड्राइभिङ मोड पाउन सकिन्छ ।

