ग्रेटवालका गाडीमा एभरेष्ट बैंकको कर्जा, ईभीलाई सस्तो अन्यलाई महंगो

काठमाडौं । एभरेष्ट बैंकले ग्रेटवाल मोटर्सका उत्पादनमा कर्जा सुविधा दिने भएको छ । बैंक र भिजी इम्पेक्स बीच भएको सम्झौंता अनुसार एभरेष्ट बैंकले ग्रेटवालका उत्पादन किन्ने ग्राहकलाई कर्जा सुविधा दिने भएको हो ।

ग्रेटवाल मोटर्सले अहिले हाभल ब्राण्डमा जोलायन र एच-६, ग्रेटवाल ब्राण्डमा पावर र विङ्गल तथा इलेक्ट्रीक ब्राण्ड ओराको ओरा-०३ बिक्री गर्दै आएको छ ।

सम्झौता पत्रमा भिजी ईम्पेक्सका भाइस-प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र एभरेष्ट बैंक लिमिटेडका उप-महाप्रबन्धक गौरव कुमार हस्ताक्षर गरेका हुन् ।
यो सम्झौता ग्रेटवाल मोटर्सको कुनै पनि सवारीसाधन खरिद गर्न चाहने ग्राहकहरुलाई सहज रिटेल फाइनान्सिङ अनुभव प्रदान गर्नेे उद्देश्यले भएको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिस्पर्धी ब्याज दर, डाउन पेमेनट र कर्जा अवधि सहित विभिन्न प्याकेजहरू उपलब्ध गराउने लक्ष्य राखेको कम्पनीले जनाएको छ । एभरेष्ट बैंकले अधिकतम ७ वर्षको अवधिको लागि उत्कृष्ट ब्याजदरमा कर्जा दिने जनाएको छ ।

विद्युतीय गाडीमा मूल्यको ८० प्रतिशतसम्म कर्जा प्रबाह गर्ने, तीन वर्षसम्मको लागि न्यूनतम १०.८० प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।

अहिलेको विद्युतीय साधनको लागि कर्जा लिन चाहने ग्राहकले एभरेष्ट बैंकको आधार ब्याजदरमा २ प्रतिशत प्रिमियम तिर्दा पुग्छ भने अन्य पेट्रोलियम पदार्थबाट चल्ने गाडीको हकमा २.५ प्रतिशत प्रिमियम लाग्ने विज्ञप्तीमा उल्लेख छ ।

ग्रेटवाल मोटर्सले बिक्री गर्ने ईभीको हकमा लोन-टु-भ्यालु रेसियो ५० प्रतिशतमा कर्जा लिनेको लागि थप ०.५० प्रतिशत ब्याजदर छुट हुने उल्लेख छ । सबै गाडीहरुको लागि कर्जा प्रोसेसिङ शुल्क स्वीकृत कर्जाको मात्र ०.५० प्रतिशत लाग्ने छ ।


Back_to_top