दुई लाख पर्ने बजाज मोटरसाइकलमा साढे ४ लाख किलोमिटर यात्रा !

काठमाडौं । एक भारतीयले बजाज प्लाटीनामा लगभग साढे ४ लाख किलोमिटर यात्रा गरेका छन् । यही क्रममा उनी आज बजाजको टेकु शोरुममा आइपुगेका हुन् ।

सन् २०१४ देखि मोटरसाइकल यात्रा सुरु गरेका विकास सिन्धेले ९ वर्षको अवधिमा ४ लाख २१ हजार किलोमिटरभन्दा धेरै बजाज प्लाटीन चलाएका छन् । उनले चाँडै नै ५ लाख किलोमिटर यात्रा गरेर रेकर्ड बनाउने तयारीमा रहेको समेत बताए ।

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले उनलाई सम्मान तथा सहयोग गर्ने उद्देश्यले एक कार्यक्रम आयोजना गरेको थियो । बजाजले दैनिक प्रयोग हुने रेनकोट, ब्याग, पन्जा तथा नगद सहयोग गरेको हो ।

कार्यक्रममा बोल्दै सिन्धेले २०१४ मा प्लाटीना लिएर लद्धाख, स्पीती भ्याली, हिमाञ्चल, नेपालको मुस्ताङ, पोखरा, काठमाडौं लगायतका धेरै स्थान पुगेको बताए ।

‘सुरुमा धेरैले मलाई यो मोटरसाइलमा लामो यात्रा गर्न सकिदैन भन्ने गरेका थिए । यसमा मैले ९ पटक भारत भ्रमण र ४ पटक नेपालको विभिन्न स्थान तथा भुटानसम्म पुगेको छु । यो मोटरसाइकल चलाउँदा मलाई आजसम्म शरिर दुख्ने समस्या भएको छैन । यो मोटरसाइकललाई मैले १ लाख ५० हजारभन्दा धेरै किलोमिटर अफरोडमा नै चलाएको छु’, सिन्धेले भने ।

उनले चाँडै नै प्लाटीनमा ५ लाख किलोमिटर यात्रा पुरा गरेर रेकर्ड बनाउन लागेको समेत बताउँदै भने, ‘एक पटक फेरि भारत भ्रमण गरेर ५ लाख किलोमिटर पुरा गर्ने लक्ष्य लिएको छु, पशुपतिनाथ तथा मुक्तिनाथ धाम दर्शनका लागि फेरि एक पटक यही मोटरसाइकलमा नेपाल आउँछु ।’

बजाज प्लाटीन नै किन रोजेको भन्ने प्रश्नमा उनले भने जहाँ जुकै जस्तो अवस्थामा पनि मर्मत गर्न सकिने, संचालन खर्च कम भएका कारण प्लाटीन रोजेको बताए । उनका अनुसार सुरु सुरुमा प्लाटीनाले ७५ किलोमिटरसम्म माइलेज दिएको र अहिले पनि ५० भन्दा कम नदिएको बताए ।

‘भर्खर किनेको अवस्थामा ७५ किलोमिटरसम्म माइलेज दिएको थियो, अहिले बुढो पनि भयो अहिले ५० किलोमिटरको माइलेज दिइरहेको छ’, उनले भने ।

उनले धेरै पटक टायर फेरेको र दुई पटक मात्र इन्जिन बनाएको बताए । उनि यात्राका क्रममा बेटी बचाओ, वातावरण बचाओ, हेलमेट लगाओ जस्ता जनचेतनका काम गर्दै हिड्ने गरेका छन् ।

नेपालमा उपलब्ध छ बजाज प्लाटीना

बजाजले नेपाली बजारमा कम्वाइन ब्रेकिङसहितको प्लाटीना विक्री गर्दै आएको छ । यो मोटरसाइकल बजाले विक्री गर्ने सबैभन्दा कम मूल्यको मोटरसाइकल रहेको छ । बजाज प्लाटीनामा १०२ सीसी क्षमताको इन्जिन रहेको छ । उक्त इन्जिनले ८ पीएस पावर तथा ८.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ४ स्पीडको गियरबक्स पाउन सकिन्छ ।

यो मोटरसाइकल माइलेजका लागि उपर्युत्त मानिन्छ । यो मोटरसाइकलले ७५ देखि ९० किलोमिटर माइलेज दिने कम्पनीको दावी रहेको छ भने ४ लाख २१ हजार किलोमिटर प्लाटीना चलाएका सिन्धेका अनुसार भारतका समथर सडकहरुमा ७५ किलोमिटरसम्म माइलेज पाएका छन् ।
यो मोटरसाइकलले सामान्यतया शहरी भुगाभहरुमा पनि ५० भन्दा धेरैको माइलेज दिन्छ । बजाज प्लाटीना १०० को मूल्य १ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top