साना मोटरसाइकल र स्कुटरको आयात ३६ प्रतिशतले घट्दा, ठूलाको बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो २ महिनामा पेट्रोलियम पदार्थबाट चल्ने दुई पाङ्ग्रे साधनको आयातमा ब्यापक गिरावट आएको छ । भन्सार विभागको तथ्यांक अनुसार दुई पाङ्ग्रे साधनको आयातमा ३६ प्रतिशत हाराहारीले गिरावट आएको हो ।

अघिल्लो वर्षदेखि लगातार घट्दै गएको दुई पाङ्ग्रे साधनको आयात चालु आर्थिक वर्षको दुई महिनामा पनि निरन्तर ओरालो लागेको हो । अघिल्लो आवको पहिलो २ महिनामा ४१ हजार ७१४ यूनिट मोटरसाइकल तथा स्कुटर आयात भएकोमा यो साउन र भदौमा घटेर २६ हजार ७३७ यूनिट मात्रै आयात भएको छ ।

त्यस्तै, इलेक्ट्रीक स्कुटर र मोटरसाइकलको आयातमा पनि ब्यापक गिरावट आएको छ । अघिल्लो वर्षको दुई महिनामा १ हजार ७३७ यूनिट विद्युतीय दुई पाङ्ग्रे साधन आयात भएकोमा यो चालु आवको दुई महिनामा ८५५ यूनिट मात्रै आयात भएको देखिन्छ । दुई पाङ्ग्रेको विद्युतीय साधनको आयात लगभग ५० प्रतिशतले घटेको हो ।

ठूला मोटरसाइकलको आयात वृद्धि

समग्र दुई पाङ्ग्रे साधनको आयात लगातार घट्दै गएको भएपनि २५१ सीसीदेखि ४०० सीसी सेग्मेन्टमा भने ब्यापक वृद्धि भएको छ । यो सेग्मेन्टमा रोयल इनफिल्डले नयाँ डिलरमार्फत मोटरसाइकल एसेम्बल र बिक्री सुरु गरेसँगै यो सेग्मेन्टमा आयात ब्यापक बढेको हो ।

अघिल्लो आवको पहिलो दुई महिनामा १६० यूनिट मात्र आयात भएको यो सेग्मेन्टमा चालु आवको सोही अवधिमा २ हजार ६६९ यूनिट आयात भएको देखिन्छ । यो १ हजार ६५० प्रतिशत हाराहारीको वृद्धि हो ।


Back_to_top