काठमाडौं । मूल्यको कारण नेपालमा लचिङसँगै चर्चा कमाइरहेको डल्फीनले अष्ट्रेलियन एनक्यापले गरेको क्र्यास टेष्टमा पनि ५ स्टार रेटिङ पाउन सफल भएको छ ।
अष्ट्रेलियन एनक्यापले गरेको परिक्षणमा ५ स्टार रेटिङ पाएसँगै यसको चर्चा थप बढ्ने भएको छ । साथै, सबैभन्दा कम मूल्यको ५ स्टार रेटिङ प्राप्त गर्न सफल मोडल समेत बनेको हो ।
अष्ट्रेलियन एनक्यापको नयाँ मापदण्ड अनुसार परिक्षण गरिएको डल्फीनले एडल्ट प्यासेन्जर सुरक्षामा ८९ प्रतिशत अंक पाएको थियो । त्यस्तै चाइल्ड प्यासेन्जर सुरक्षामा ८६ प्रतिशत, ८५ प्रतिशत सडक यात्रु सुरक्षा र ७७ प्रतिशत सुरक्षा फिचरको लागि अंक प्राप्त गरेको हो ।
त्यहि परिक्षणमा बीवाइडी सिलले पनि ५ स्टार रेटिङ पाउन सफल भएको थियो । बीवाइडीको प्रिमियम सेडानले वयस्क प्यासेन्जरको सुरक्षामा ८९ प्रतिशत अंक पाएको हो ।

त्यस्तै फ्रन्टीयल अफसेट टेस्टमा ८ मा ५.९२ पोइन्ट, फुल स्वीथ फ्रन्टीयलको ८ मा ७.६३, साइड इम्प्याकमा ६ मा ६ र पोल टेस्टमा पनि ६ मा ६ नै स्कोर पाएको हो । सिलले ओभरअल रिजल्टमा ८७ प्रतिशत स्कोर पाएको हो ।
यस्तो छ बीवाइडी डल्फीन
चिनियाँ ब्राण्ड बीवाइडीको ग्लोवल मोडल डल्फीनलाई भदौ अन्तिममा आधिकारीक बिक्रेता साइमेक्स इंकले नेपालमा सार्वजनिक गरेको हो ।
नाडा अटो शो २०२३ मा ग्राहकको निकै राम्रो प्रतिक्रिया पाएको डल्फीन अहिले पनि धेरै ग्राहक बुकिङ गरेर गाडी कुरिरहेका छन् ।
डल्फीन ह्याचव्याकमा ४४.९ किलोवाट आवर क्षमताको बीवाइडीको ब्लेड ब्याट्री रहेको छ । यसलाई सिंगल चार्जमा ३४० किलोमिटर गुडाउन सकिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।
कम्पनीले यसमा ७० किलावाट क्षमताको मोटर दिएको छ । यसको लम्बाई ४२९० एमएम, चौडाई १७७० एमएम र उचाई १५७० एमएम रहेको छ । ठूलो साइजकै कारण यसलाई धेरैले मनपराएका छन् ।
डल्फीनमा १६ इन्चको अलोय ह्वील पाउन सकिन्छ । साथै, ६० किलोवाट क्षमताको डिसी फास्ट चार्जर सपोर्ट गर्ने कारण यसलाई तिब्र गतिमा चार्ज गर्न सकिन्छ । यसले ७ किलोवाटको एसी चार्जर पनि सपोर्ट गर्छ ।
साइमेक्स इंकले यसको मूल्य ३९ लाख ८० हजार रुपैयाँ निर्धारण गरेर बिक्री गर्दै आएको छ । आकर्षक मूल्यसँगै उत्कृष्ट क्र्यास टेष्ट रिजल्टले यसलाई किन्न चाहनेहरुलाई थप उत्साहित बनाउने देखिन्छ ।

