काठमाडौं । सन् १९४५ देखि अटोमोवाइल ब्यवसायमा रहेको बजाज अटोले १९६५ देखि अटोमोवाइल म्यानुफ्याक्चरको रुपमा काम सुरु गरेको हो । कम्पनीले तत्कालिन समयमा स्कुटर उत्पादन गरेको थियो । सन् १९९० सम्म बजाजले उत्पादन गरेको चेतक स्कुटरले भारतीय बजारमा एकछत्र राज गर्यो ।
९० को दशकपछि भारतमा बिभिन्न अन्तर्राष्टिय ब्रान्डले भारतमा प्रवेश गर्यो र मोटरसाइकल उत्पादन गर्न थाले । त्यस पश्चात् भारतमा मोटरसाइकलको बजार बढ्न थाल्यो र स्कुटरले बजार नपाउने अवस्था आयो ।
स्कुटरको बजार खस्किन सुरु भएसँगै बजारमा स्कुटरको उत्पादन बन्द गर्यो र मोटरसाइकलको उत्पादनमा जोड दियो । अन्य कम्पनीले माइलेज दिने कम पावर भएका मोटरसाइकल उत्पादन गरे । तर, बजाजले यसको ठिक विपरित धेरै पावर र कम माइलेज दिने मोटरसाइकलको उत्पादन सुरु गर्यो ।
विकास उन्मुख अर्थतन्त्र भएको देश भारतमा युवाहरुले पावर भएको बजाजका मोटरसाइकल अन्य ब्रान्डका तुलनामा केही महंगो पर्ने भएतापनि रुचाउँदै गए । विस्तारै बैंक तथा फाइनान्स कम्पनीहरुले अटोलोनमा नाफा देखेर मोटरसाइकलमा फाइनान्स सुविधा उपलब्ध गराउन थाले । त्यसले बजाजको ब्यापार उच्च गतिमा अघि बढ्यो । हालसम्म आइपुग्दा बजाज भारतकै सबैभन्दा ठूलो अटोमोवाइल जाइन्ट कम्पनीको रुपमा खडा भएको छ ।
नेपालमा भने मोटरसाइकलको बजार ठिक विपरित दिशामा छ । भारतमा अहिले पनि मोटरसाइकको बजार स्कुटरको तुलनामा ठूलो छ । नेपालमा स्कुटरको बजार फैलिदै गएको छ । अहिले नेपालमा स्कुटरको बजार हिस्ता ५३ प्रतिशत हाराहारी पुगेको छ । यो स्कुटरको हिस्सा पछिल्लो ४ वर्षमा २७ प्रतिशतबाट बढेर ५३ प्रतिशत पुगेको हो ।
गत वर्ष १ लाख ४ हजार हाराहारीमा दुईपाँग्रे नेपालमा आयात भएकोमा लगभग ५५ हजार २०० यूनिट स्कुटर रहेको तथ्यांक छ । यसको प्रत्यक्ष असर हंशराज हुलाश चन्द एण्ड कम्पनीले भोगिरहेको हो ।
नेपालमा यूवाको संख्या दिनानुदिन विदेशिनु र बढ्दो शहरीकरणको कारण मोटरसाइकलको बजार घट्दो छ । शहरी क्षेत्रमा मात्र चलाउनका लागि सहज हुने कारण स्कुटरको माग बढिरहेको बुझ्न सकिन्छ ।
यसको प्रतिकुल असर बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलाश चन्द एण्ड कम्पनीको ब्यापारमा परेको देखिन्छ । बजाजको लाइनअपमा १०० सीसीदेखि ४०० सीसीसम्मका मोटरसाइकल मात्र उपलब्ध छन् ।
पछिल्लो समय नेपालमा १२५ सीसी सेग्मेन्टमा मोटरसाइकलको माग बढ्दो छ । शहरी क्षेत्रमा संचलान गर्न सहज हुने स्कुटर अहिले युवाहरुको रोजाइमा पर्ने गरेको छ ।
बजाजले लामो समय नेपाली सडकमा रुल गर्यो । नेपालको जुनै कुनामा गएपनि बजाजको मोटरसाइकल देख्न सकिन्छ । मुस्ताङ जिल्लामा एकमात्र शोरुम तथा सर्भिस सेन्टर स्थापना गर्ने कम्पनीमा पनि बजाज नै पर्छ । बजाजको २२० ले अफरोड तथा टूरर दुबैको काम गरिरहेको छ । नेपालको जुनै पनि कुनामा बजाज २२० भेट्न सकिन्छ ।
एनएसले सहरी क्षेत्रमा स्ट्रीट मोटरसाइकल सेग्मेन्टमा राज गरेको छ । पल्सर १५० फ्यामिली बाइकको रुपमा सदावहार विक्री हुनेमा पर्छ ।
तर, पछिल्लो समय स्कुटरको अभाव बजाजले नेपाली बजारमा झेल्न थालेको सहजै बुझ्न सकिन्छ । सधै जसो पहिलो÷दोस्रो नम्वरमा हुने बजाजले पछिल्लो वर्ष आफ्नो स्थान गुमाएको छ ।
यस्तो हुनुमा होन्डाले सदावहार रुपमा डिओ बिक्री गर्नु र १२५ सीसी सेग्मेन्टमा ग्राजिया नेपाल भित्र्याउनु र यामाहाको रेजेडआर तथा टीभीएस एनटर्क १२५ ले स्कुटर सेग्मेन्ट कब्जा गर्नु हो । गत वर्ष १ लाख ४ हजार हाराहारीमा दुईपाँग्रे नेपालमा आयात भएकोमा लगभग ५५ हजार २०० यूनिट स्कुटर रहेको तथ्यांक छ । यसको प्रत्यक्ष असर हंशराज हुलाश चन्द एण्ड कम्पनीले भोगिरहेको हो ।
यस्तै बुझाई हंशराज हुलाश चन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यु गाल्छाको पनि छ । उनि भन्छन्, ‘पहिला मोटरसाइकलको मार्केट हुँदा हामी लिडरको रुपमा थियौ, अहिले स्कुटरको मार्केट मोटरसाइकलको भन्दा धेरै हुँदा सबैभन्दा गाह्रो बजाजलाई नै छ ।’
कम्पनीले स्कुटर सेग्मेन्टमा चाँडैनै प्रवेश गर्ने तयारी गरिरहेको बताउँदै गोल्छाले भने, ‘अब भनेको स्कुटरमा ईभीको नै मार्केट हो, त्यसका लागि हामी लागि रहेका छौ, लामो समयदेखि रिसर्च चलिरहेको छ, तीन महिना भित्र हामी ग्राहकले नसोचेको मूल्यमा इलेक्ट्रीक स्कुटर लिएर आउँछौं,’ गोल्छाले भने ।
गोल्छाका अनुसार हाल नेपालमा जति पनि इलेक्ट्रीक स्कुटर उपलब्ध छन् । तिनिहरु मूल्यका आधारमा धेरै छन् । बजाजले आइसीइ इन्जिन भएका स्कुटरको मूल्यसँग प्रतिस्पर्धा गर्नेगरी बजाजका ईभी ल्याउने तयारी गरेको उनले बताए ।
बजाजले भारतीय बजारमा चेतक स्कुटरको उत्पादन तथा बिक्री गर्दै आएको छ । कम्पनीले कम मूल्यको चेतक ल्याउने तयारी गरिरहेको छ ।

