काठमाडौं । ब्लेड ब्याट्रीकै कारण विश्वभर आफ्ना विद्युतीय कारलाई अब्बल र चर्चित बनाउन सफल बीवाइडीले सोडियम आयोन ब्याट्री उत्पादन गर्ने भएको छ । कम्पनीले नयाँ संयुक्त लगानीमा कम्पनी खोलेर वार्षिक ३० गिगावाट आवर सोडियम आयोन ब्याट्री बनाउन लागेको हो ।
अहिले पनि बीवाइडी विश्वकै ठूलो न्यू इनर्जी भेहिकल उत्पादक र दोस्रो ठूलो ब्याट्री उत्पादक कम्पनी हो । बीवाइडीले लिथियम आयोन फस्फेट ब्याट्री अहिले उत्पादन गर्दै आएको छ ।
अब कम्पनीले १.४ विलियन डलर लगानीमा सोडियम आयोन ब्याट्री उत्पादन गर्ने प्लान्ट स्थापना गर्न लागेको हो । त्यसको लागि गत शनिबार चीन कै ह्वाइहाइ ग्रुपसँग बीवाइडीले एक सम्झौता गरेको छ । उक्त सम्झौतामा बीवाइडीको ब्याट्री उत्पादक गर्ने कम्पनी ‘फाइनड्रिम्स’ले ह्वाइहाइसँग गरेको हो ।
उक्त संझौता अनुसार ह्वाइहाइले बेइजीङ र संघाइको बीचमा प्लान्ट लगाउने छ । उक्त सोडियम आयोन ब्याट्री साना इन्ट्रीलेवल इलेक्ट्रीक कार, स्कुटर र ट्राइसाइकलमा प्रयोग गर्नेछ । लिथियम आयोनको भन्दा सोडियम आयोनमा इनर्जी डेन्सीटी थोरै र मूल्य पनि कम हुने बताइन्छ ।
यी दुई कम्पनीले सन् २०२२ को नोभेम्बरमै स्ट्याण्डर्ड ब्याट्री प्लान्ट स्थापना गर्ने योजना सार्वजनिक गरेको थियो । उक्त योजना अनुसार ३ लाख १० हजार स्क्वायर मिटरको प्लान्ट करिब करिब तैयार भइसकेको र आगामी वर्षको मार्चबाट परिक्षण उत्पादन सुरु हुने जनाइएको छ ।
बीवाइडीले आफ्नो सबैभन्दा सानो ईभी सिगलमा सोडियम आयोन व्याट्रीको प्रयोग गर्ने खवरहरु बाहिर आएको थियो । तर, स्ट्याण्डर्ड एलएफपी ब्लेड ब्याट्रीमै सिगललाई कम्पनीले अहिले बिक्री गर्दै आएको छ ।

