काठमाडौं । सार्वजनिक यातायातको अध्ययन र अनुषन्धान विना नै सवारीसाधन चल्न दिने नेपाली परम्परा पुरानै हो । पेट्रोलियम होस्, ग्यासबाट चल्ने होस् या विद्युतीय निर्धक्क र निर्वाद हाम्रा सडकमा गुडेका छन् ।
साना भेडाबाख्रा बोक्न बनाइएका सधानलाई सार्वजनिक यातायातको मन्यता दिने हाम्रो देशमा बल्ल २० वर्षपछि आएर विद्युतीय भ्यानहरुको प्रयोग सुरु भएको छ । त्यो पनि पब्लिकको माग अनुसार चीनबाट गाडी आउन थालेको हो । यी गाडीले यातायात ब्यवसायीलाई प्रतिफल, यात्रुलाई आरामदायी यात्रा र देशलाई स्वच्छता दिन थालेका छन् ।
सार्वजनिक यातायातमा ईभीको प्रयोगसँगै इन्धनको उपभोग घट्ने, वातावरण प्रदुषण रोकिने र नेपालले आफ्नै उत्पादनको इनर्जी प्रयोग गर्न पाउने भएकै कारण विदेश मुद्रा वचत भई व्यापार घाटामा समेत कमी आउने विषय अहिले चर्चामा छ । त्यहि अनुसार यातायात ब्यवसायीले पनि प्रतिफल पाउन थालेसँगै विद्युतीय भ्यानको बिक्री तिब्रगतिमा बिस्तार भएको हो ।
हाम्रा सहर भित्रका रुटहरुमा विगतदेखि नै १० देखि १५ सिटे सवारीहरुको प्रयोग धेरै हुने गरेको पाइन्छ । साना र गल्ली बाटामा समेत माइक्रोबसको प्रयोग हुँदै आएको थियो । साथै, काठमाडौंबाट नजिक रहेका सहरमा पनि माइक्रो बसको प्रयोग हुँदै आएको थियो ।
अहिले काठमाडौंबाट २०० देखि २५० किलोमिटरसम्मका जिल्ला र सहरमा विद्युतीय माइक्रो भ्यानको प्रयोग बढिरहेको छ । त्यहाँ पुराना माइक्रोभ्यानहरु बिक्री गरेर पनि मानिसले इलेक्ट्रीक भ्यान खरिद गरिरहेका छन् ।

यातायात विभागका अनुसार काठमाडौंबाट २०० किलोमिटर हाराहारीेका दूरीमा अहिले पनि करिब ५÷६ हजार यूनिट हाराहारी टाटा सुमो, टोयोटा हायस, फोटोन सीएस२, टाटा विङ्गर जस्ता भ्यानहरु सार्वजनिक यातायातको रुपमा संचालित छन् ।
यसरी सार्वजनिक यातायातका रुपमा चलिरहेका पुराना माइक्रो भ्यानलाई विस्तारै इलेक्ट्रीक भ्यानले प्रतिस्थापन गर्दै जाने देखिन्छ ।
नेपालमा इलेक्ट्रीक प्यासेन्जर भ्यानको सुरुवात
इलेक्ट्रीक भ्यान सेग्मेन्टमा पहिलो पटक दिगोले डाँफे ल्याएको हो । चिनियाँ प्रशिद्ध कम्पनी डीएफएसकेको भ्यानलाई नेपाली नाम ‘डाँफे’ राखेर दिगोले नेपाल ल्याएको थियो । कम्पनीले ल्याएको माइक्रो भ्यान ११ सिट क्षमताको थियो ।
काठमाडौं–सिन्धुली रुटमा पहिलो पटक सफलतापूर्वक संचालनमा आएको डाँफे भ्यान छोटो समयमा नै निकै चर्चित बन्यो । त्यसपछि काठमाडौंबाट पश्चिम तर्फका सहरहरुमा पनि माग हुन थाल्यो ।

डाँफेको आपूर्ति सहज भएन । धेरै मानिस गाडी किन्न कुरेर बसेका थिए । त्यसलाई अवसरको रुपमा प्रयोग गर्दै अन्य ब्राण्डहरु केवाइसी र एसआरएम नेपाल प्रबेश गरे ।
अहिले काठमाडौंबाट सिन्धुली, नुवाकोट, चितवन, पोखरा, बर्दिबास, कटारी, गाइघाट, घुर्मी, ओखलढुङ्गा जस्ता क्षेत्रमा इलेक्ट्रीक भ्यान संचालनमा छन् । काठमाडौंको भित्री रुटमा पनि इलेक्ट्रीक भ्यानहरु देखिन थालेका छन् ।
तराइका समथर बाटामा पनि इलेक्ट्रीक भ्यानको उच्च माग रहेको छ । आयात तथ्यांकलाई आधार मान्ने हो भने सबै ब्राण्डका मिलाएर अहिलेसम्म करिब १५ सय यूनिट माथि विद्युतीय भ्यानहरु सडकमा गुड्न थालेका छन् ।
सिट क्षमता, रेन्ज र इन्धन लागत
अहिले बजारमा ११ सिटदेखि १५ सिट क्षमताका इलेक्ट्रीक भ्यानहरु छन् । भदौबाट सिजी मोटर्सले किङलङ ब्राण्डको १४ सिटे भ्यान काठमाडौं उपत्यकाको रुटका बिक्री थालेको जनाएको छ ।
एक पटकको फुल चार्जमा ३०० किलोमिटरसम्म चल्ने दावी गरएका यी भ्यानमा १८० एमएम ग्राउण्ड क्लियरेन्स छ । यसको प्रति किलोमिटर इन्धन खर्च २ रुपैयाँभन्दा कम पर्ने कम्पनीको भनाइ छ ।

अर्को कम्पनी एमएडब्लू वृद्धिले भने रुटमा धेरै गाडी पठाइको छैन । उसले बिक्री गर्ने विद्युतीय भ्यान विभिन्न संघ–संस्थाहरुमा बिक्री गरिरहेको छ । यसको पनि संचालन लागत २ रुपैयाँभन्दा कम नै पर्ने कम्पनीको भनाइ छ ।
सर्वाधिक सफल केवाइसी, डाँफे र एसआरएमका उत्पादन समान प्लेटफर्ममा बनेका हुन् । साइज, मोटर पावर र ब्याट्री क्षमता पनि तीनवटै मोडलमा उस्तै छ । यी भ्यानको पनि प्रति किलोमिटर संचालन लागत २ रुपैयाँभन्दा कम नै पर्छ ।
नेपालमा उपलब्ध सबै भ्यानले कम्पनीको दावी जति भएपनि २०० किलोमिटर आसपासमा रेन्ज प्रदान गर्नेछन् ।
वारेन्टी
नेपालमा बिक्री हुने सबैजसो ईभी भ्यानहरु चीनमा बनेका हुन् । यी भ्यानहरु समान टेक्नोलोजी र क्वालीटीमा बनेका छन् । सबैमा कम्पनीले ५ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी दिएका छन् ।
चार्जिङ पूर्वाधार
अहिले सार्वजनिक यातायातमा चलेका अधिकांश भ्यानको मुख्य चार्जिङ प्वाइन्टहरु प्राधिकरणले संचालनमा ल्याएका चार्जिङ नेटवर्क हुन् । यसका अलावा केही कम्पनीलाई गाडी किन्दा नै बिक्रेताले चार्जिङ स्टेशन निर्माण गरिदिएका छन् । दिगोले केही स्थानमा आफ्नै चार्जर पनि राखेको छ ।
जति संख्यामा इलेक्ट्रीक भ्यानहरु संचालनमा आएका छन्, त्यसलाई चार्ज गर्न पर्याप्त चार्जिङ सेन्टरहरु भने छैनन् । निरन्तर रुटमा चलिरहनुपर्ने यस्ता भ्यानहरुलाई चार्ज गर्न भने समस्या देखिएको छ । साथै, यस्ता ईभीमा रहेका हाइभोल्टेज ब्याट्रीको लाइफ सकिएपछि त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने ठोस योजना गाडी आयातकर्ता कम्पनी र सरकार दुबैसँगै छैन । यातायात संचालकको बसमा हुने कुरै भएन ।

