काठमाडौं । कोरियाली अटोमोबाइल उत्पादक हुन्डाईको चर्चित एसयूभी क्रेटा अब नयाँ प्लेटफर्म र ठूलो साइजमा आउने भएको छ ।कम्पनीले थर्ड जेनेरेसन ‘२०२७ क्रेटा’ नयाँ प्रविधि, आधुनिक फिचरहरू थपेर ठूलो साइजमा ल्याउने भएको हो ।
थर्ड जेन क्रेटा हाल विभिन्न ठाउँमा परीक्षण भइरहेको छ । हालै अमेरिकामा खिचिएका स्पाइ तस्बिरहरूले यसको सडक उपस्थिति र अन्य विवरणहरू खुलाएको छ ।
तेस्रो पुस्ताको क्रेटा अब हुन्डाईको नयाँ ‘के ३’ प्लेटफर्ममा आधारित हुनेछ । के ३ प्लेटफर्ममा उच्च शक्ति भएको स्टिलको प्रयोग गरिएको हुन्छ । जसले गाडीको ढाँचालाई पहिलेको भन्दा बलियो बनाउँछ । साथै, यो प्लेटफर्ममा बन्ने गाडी ठूलो र फराकिलो इन्टेरियर भएको कम आवाज आउने, कम थर्किने खालका हुन्छन् । जसले राम्रो ड्राइभिङ अनुभव र थप सुरक्षा प्रदान गर्नेछ ।
कभरले ढाकिएर परीक्षण भइरहेको नयँँ क्रेटामा आयताकार हेडल्याम्प, सिधा बोनेट र बक्सी प्रोफाइल देखिन्छ । छेउबाट हेर्दा नयाँ एलोय ह्विल, टर्न सिग्नल सहितको ओआरभीएम, शार्क फिन एन्टिना र हल्का भिरालो छतको बनावट देख्न सकिन्छ । साथै, नयाँ क्रेटामा परिमार्जित ग्रिल र अगाडि तथा पछाडिको बम्पर हुने अपेक्षा गरिएको छ।
नयाँ पुस्ताको क्रेटा हालको मोडलभन्दा आकारमा ठूलो हुने अनुमान छ । हालको मोडल ४,३३० एमएम लामो छ भने नयाँ क्रेटा झण्डै ४,५०० एमएम लामो हुन सक्छ। नयाँ के ३ प्लेटफर्मका कारण यो आकार सम्भव भएको हो । दोस्रो पुस्ताको सेल्टोसले पनि यही प्लेटफर्म प्रयोग गरिएको छ । जसको लम्बाइ ४४६० एमएम छ ।

नयाँ क्रेटाको आकार ठूलो हुँदा लुक्स नभई भित्र बस्ने ठाउँ र बुट स्पेस पनि बढ्नेछ । नयाँ क्रेटाको इन्टिरयरमा धेरै नयाँ सुविधाहरू थपिने अपेक्षा गरिएको छ । यसमा हुण्डाईको नयाँ ४९ डट लोगो भएको स्टेयरिङ ह्वील हुन सक्छ । ठूलो साइजका इन्स्ट्रुमेन्ट क्लस्टर, इन्फोटेनमेन्ट स्क्रीन र नयाँ युजर इन्टरफेससहित आउने छ । साथै, नयाँ क्रेटामा एडास र कनेक्टिभिटीमा पनि नयाँ फिचरहरू थपिनेछन्।
थर्ड जेन क्रेटामा इन्जिन भने हालकै निरन्तरता पाउने सम्भावना छ । यसमा १.५ लिटर पेट्रोल, १.५ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिन रहने छन् । यीनले क्रमशः ११५, १५० र १६० हर्ष पावर शक्ति प्रदान गर्छ । टर्बो पेट्रोलमा ७ स्पीडको डीसीटी र अरू इन्जिनमा ६ स्पीडको म्यानुअल र अटेमिटक ट्रान्समिसन विकल्पहरू उपलब्ध हुने छन्।
भविष्यमा नयाँ क्रेटामा ‘स्ट्रङ हाइब्रिड’ विकल्प पनि आउन सक्छ । जुन अहिले विकासको क्रममा छ । हुण्डाईले नयाँ क्रेटा यसै वर्षको अन्त्यमा वा २०२७ मा सार्वजनिक गने सम्भावना छ ।
क्रेटा नेपालमा पनि निकै चर्चित छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले हाल नेपालमै एसेम्बल गर्दै आएको छ ।

