काठमाडौं । चालु आर्थिक वर्षमा वीरगंज नाका हुँदै विद्युतीय सवारी आयात ५५.९८ प्रतिशतले बढेको छ ।
साउनदेखि चैत मसान्तसम्म वीरगंज हुँदै कुल १२ हजार ४९७ युनिट विद्युतीय सवारी भिएका हुन् । यो गत वर्ष सोही अवधिको तुलनामा ४ हजार ४८५ युनिट धेरै हो । गत वर्ष कुल ८ हजार १२ युनिट विद्युतीय सवारी आयात भएको थियो ।
समग्रमा चालु आवमा कुल २ अर्ब ९८ करोड रुपैयाँ बराबरको विद्युतीय सवारी साधन यो नाका हुँदै आयात भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ४८ करोड रुपैयाँ बराबरको यस्ता सवारी साधन आयात भएका थिए ।
चालु आवमा वीरगंज हुँदै विद्युतीय जिप, कार र भ्यानको आयात झण्डै तेब्बरले बढेको छ । वीरगंज भन्सार कार्यालयका अनुसार चालु आवको चैतसम्म १ अर्ब ४६ करोड रुपैयाँ बराबरको ४९३ युनिट विद्युतीय जिप, कार र भ्यान आयात भएका छन् ।
यो गत वर्ष सोही अवधिको तुलनामा १८६.६२ प्रतिशतले धेरै हो । गत वर्ष चैतसम्म कुल १७२ युनिट विद्युतीय कार आयात भएको थियो ।वीरगंज हुँदै भारतसँगै अन्य तेस्रो मुलुकबाट विद्युतीय सवारी आयात भएका हुन् ।
त्यसैगरी, चालु आर्थिक वर्षको चैतसम्म ९६ करोड रुपैयाँ बराबरको ७ हजार ३९८ विद्युतीय मोटरसाइकल तथा स्कुटरको आयात भएको छ । जसबाट ३२ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा ५५ करोड रुपैयाँ बराबरको ४ हजार २२७ थान विद्युतीय मोटरसाइकल तथा स्कुटर आयात भएको थियो ।
त्यसैगरी, चालु आवको चैसम्म यो नाका हुँदै ५३ करोड रुपैयाँ बराबरको ४ हजार ६०६ युनिट विद्युतीय तीनपाँग्रे आयात भएको छ । गत वर्ष सोही अवधिमा ४५ करोड रुपैयाँ बराबरको ३ हजार ६१३ युनिट तीनपाँग्रे ईभी आयात भएको थियो ।

