यूएई तेल उत्पादक देशहरूको समूह ओपेकबाट बाहिरियो, कार्टेलमा ठूलो धक्का

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले तेल उत्पादक देशहरूको संगठन ओपेक र यस बाहिरका ठूला उत्पादकहरूको समूह ओपेक प्लसबाट बाहिरिने निर्णय गरेको छ ।

शुक्रबारदेखि लागू हुने गरी ओपेक र ओपेक प्लसबाट बाहिरिने घोषणा गरेको हो । यूएईको यो कदमले विश्व तेल बजारमा भइरहेको कार्टेलमा ठूलो धक्का दिने आकलन गरिएको छ ।

यूएईले राष्ट्रिय हितमा केन्द्रित हुनका लागि यो निर्णय लिएको यूएईको सरकारी संचार माध्यमले जनाएको छ । ओपेकमा रहँदा आफूले महत्त्वपूर्ण योगदान र त्याग गरेको तर अब आफ्नो दीर्घकालीन रणनीति र आर्थिक दृष्टिकोण अनुसार अघि बढ्ने समय आएको यूएईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘यो निर्णय यूएईको ऊर्जा प्रोफाइलसँग सम्बन्धित दीर्घकालीन रणनीति र आर्थिक दृष्टिकोणलाई प्रतिबिम्बित गर्छ । संगठनमा रहँदा हामीले महत्वपूर्ण योगदान दिएका छौँ । तर अब राष्ट्रिय हितलाई प्राथमिकता दिने समय आएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

यूएई बाहिरिएसँगै ओपेकभित्रको एकता कमजोर हुनसक्ने र तेल उत्पादन नीतिमा अस्थिरता ल्याउन सक्ने विश्लेषण गरिएको छ । यूएईका ऊर्जामन्त्री सुहेल मोहम्मद अल मज्रोइले यो निर्णय सावधानीपूर्वक वर्तमान र भविष्यका ऊर्जा नीतिहरूको मूल्याङ्कनपछि गरिएको बताए । उनले यो विषयमा साउदी अरेबिया जस्ता अन्य देशहरूसँग कुनै परामर्श नगरिएको पनि स्पष्ट पारे ।

यूएई बाहिरिँदा ओपेकले आफ्नो उत्पादन क्षमताको झण्डै १५ प्रतिशत गुमाउने विश्लेषकहरूले जनाएका छन् । ओपेकको तथ्यांक अनुसार यूएईले वार्षिक २९ लाख ब्यारेल तेल उत्पादन गर्छ । सबैभन्दा ठूलो उत्पादक साउदी अरेबियाले करिब ९० लाख ब्यारेल उत्पादन गर्छ ।

ओपेकको सन् १९६० मा इरान, इराक, कुवेत, साउदी अरेबिया र भेनेजुएलाले संयुक्त रूपमा स्थापना गरेका थिए । यूएई, अल्जेरिया, इक्वेटोरियल गिनी, ग्याबोन, लिबिया, नाइजेरिया र कङ्गो थपिएका थिए । यूएई सन् १९६७ मा ओपेकको सदस्य बनेको थियो । यूएई बाहिरिएसँगै ओपेकमा अब ११ देश रहने छन् ।


Back_to_top