काठमाडौं । सरकारले तीन सातामै दोस्रोपटक सार्वजनिक सवारीको भाडादर बढाएको छ ।
इन्धनको मूल्य वृद्धि भएको भन्दै यातायात व्यवस्था विभागले बुधबारदेखि लागू हुने गरी अन्तर प्रदेश संचालन हुने सार्वजनिक यातायातको भाडादर बढाएको हो ।
विभागका अनुसार अन्तर प्रदेश यात्रुबहाक सवारी, पहाडी बाटोमा संचालन हुने मालबहाक र तराईको बाटोमा संचालन हुने मालबाहक सवारी साधनमा समान ५/५ प्रतिशतका दरले भाडा बढाइएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वैशाख १२ गते दिएको सहमति अनुसार भाडा बढाइएको विभागले जनाएको छ ।
विभागले यसअघि गतै चैत २५ गते सार्वजनिक सवारीको भाडा बढाएको थियो । विभागले सो बेला पहाडी बाटोमा संचालन हुने मालवाहक सवारीको भाडादर २१.६८ प्रतिशत, यात्रुवाहक सवारी साधनको भाडादर १६.७१ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढाइएको थियो ।
बढेको भाडादर विद्युतीय सवारी साधनको हकमा लागू नहुने विभागले जनाएको छ । यदि कुनै विद्युतीय सवारीले बढेको भाडा लिए कारबाही हुने विभागले चेतावनी दिएको छ ।


