एमजीले ल्यायो सडकको अवस्था आफैं बुझेर गुड्न सक्ने ‘एमजी ०७’

काठमाडौं । चिनियाँ अटोमोबाइल जायन्ट एसएआइसी मोटर अन्तर्गतको प्रसिद्ध ब्राण्ड एमजीले टेस्लालाई टक्कर दिन नयाँ मोडल एमजी ०७ ल्याउने भएको छ । कम्पनीले २०२६ बेइजिङ अटो शोमा अत्याधुनिक प्रविधियुक्त नयाँ फास्टब्याक कार एमजी ०७ प्रदर्शन गरेको हो ।

कम्पनीले एमजी ०७ मा विश्वकै अत्याधुनिक अटोनोमस ड्राइभिङ प्रणाली ‘मोमेन्टा आर ७’ जडान गर्ने घोषणा गरेको छ । यो प्रविधिलाई टेस्लाको फुल सेल्फ ड्राइभिङ (एफएसडी १४) को मुख्य प्रतिस्पर्धीको रूपमा हेरिएको छ ।

मोमेन्टा आर ७ एउटा यस्तो प्रणाली हो, जसले एआइको ‘रिइन्फोर्समेन्ट लर्निङ’मा आधारित वल्र्ड मोडल प्रयोग गर्छ। यसमा ‘एक्सहर्ट एक्स ७’ नामको विशेष एआइ चिप जडान गरिएको हुन्छ । जसले मानिसले जस्तै सडकको परिस्थिति बुझेर आफैँ गाडी चलाउन मद्दत गर्छ ।

यो सिस्टम विकास गर्न मोमेन्टाले १० करोड किलोमिटरभन्दा बढीको ड्राइभिङ डाटा प्रयोग गरेको छ । कम्पनीले सन् २०२६ को अन्त्यसम्ममा २ लाख गाडीमा यो प्रविधि जडान गर्ने लक्ष्य राखेको छ । साथै, यसको डाटा प्रोसेसिङ क्षमता टेस्लाको उत्तर अमेरिकी क्षमताको करिब ६० देखि ८० प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ। यसको सफ्टवेयर अपडेट पनि निकै छिटो हुनेछ । जसका कारण हरेक हप्ता गाडीको ड्राइभिङ क्षमतामा सुधार आउनेछ ।

यो प्रणालीले जटिल सडक, पैदलयात्री र धेरै संख्यामा हुने दुईपाँग्रे सवारीको चापलाई सुरक्षित रूपमा व्यवस्थापन गर्न सक्षम हुने कम्पनीको दाबी छ ।

सामान्यतया यस्ता अत्याधुनिक ड्राइभिङ सिस्टमहरू करिब ४४ हजार डलरभन्दा महँगा गाडीहरूमा मात्र उपलब्ध हुने गर्छन् । । तर, एमजीले यो प्रविधिलाई एमजी ०७ जस्तो तल्लो सेग्मेन्टको गाडीमा पनि उपलब्ध गराएर बजारमा नयाँ तरंग ल्याइदिएको छ ।

एमजी ब्राण्डका महाप्रबन्धक चेन कुईले ग्राहकलाई कम मूल्यमै उच्चस्तरीय प्रविधिको अनुभव गराउन यो कदम चालिएको बताएका छन् ।

कुपे जस्तै आकृति भएको ‘फास्टब्याक’ डिजाइनको एमजी ०७ फ्रेमलेस डोर, एकीकृत लाइडार हार्डवेयर छ । साथै यसको छतमा सेन्सर र लाइडार जडान गरिएको छ । जसले सडकको अवरोधहरू स्क्यान गर्छ ।

एजी ०७ को इन्टेरियमा ठूलो स्क्रीन र एसएआइसीले विकास गरेको लार्ज ल्याङ्ग्वेज मोडल एआइमा आधारित ककपिट छ । जसले चालकसँग सहजै संवाद गर्न सक्छ । यसलाई एमजीको चर्चित सेडान एमजी ७ को उत्तराधिकारीको रूपमा समेत हेरिएको छ ।

यद्यपि, कम्पनीले एमजी ०७ को अन्तिम उत्पादन स्पेसिफिकेसन र यसको मूल्य भने सार्वजनिक गरिसकेको छैन ।

सन् २०२६ मा चीनमा एमजीको बिक्री निकै उत्साहजनक देखिएको छ । मार्च २०२६ मा मात्रै एमजीले १८ हजारभन्दा बढी गाडी बिक्री गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ८० प्रतिशत धेरै हो । एमजी ०७ आएसँगै बिक्री अझै बढ्ने र विश्व बजारमा टेस्लालाई चुनौती दिने अटो विज्ञहरूको विश्लेषण छ ।

नेपालमा पनि एमजीका ईभी निकै लोकप्रिय छन् । पारामाउन्ट मोटर्सले बिक्री गर्ने एमजी एस फाइभले रफ्तार लिइरहेको छ ।


Back_to_top