काठमाडौं । टोयोटा मोटर म्यानुफ्याक्चरिङ इन्डोनेसिया र विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी सीएटीएल बीच साझेदारी गर्ने सम्झौता भएको छ ।
दुई कम्पनी बीच सवारी साधनका लागि ब्याट्री उत्पादन गर्ने सम्बन्धी साझेदारी भएको हो । इन्डोनेसियाका संचार माध्यमका अनुसार दुई कम्पनीको सहकार्यमा उत्पादन हुने ब्याट्रीहरू टोयोटाका हाइब्रिड सवारी साधनहरूमा प्रयोग गरिनेछ ।
उत्पादित ब्याट्री इन्डोनेसियाको आन्तरिक बजारसँगै निर्यात पनि गरिनेछ । ब्याट्रीको निर्यात सन् २०२६ को दोस्रो त्रैमासदेखि नै सुरू हुनेछ ।
कम्पनीका अनुसार निर्यातमा पूर्ण ब्याट्री प्याक र ब्याट्रीका अन्य पार्टपुर्जाहरू समावेश हुनेछन् । ब्याट्री निर्यात गर्ने यो योजनामा टोयोटा मोटर इन्डोनेसियाले ७.५८ करोड अमेरिकी डलर लगानी गर्नेछ ।
यस अन्तर्गत चीनको सीएटीएलसँग मिलेर हाइब्रिड ब्याट्री सेल र मोड्युलहरू उत्पादन गरिनेछ । यस परियोजनाले कच्चा पदार्थदेखि तयारी उत्पादनसम्मको ब्याट्री स्थानीयकरणलाई समेट्नेछ।
टोयोटा मोटर म्यानुफ्याक्चरिङ इन्डोनेसियालेका प्रेसिडेन्ट डाइरेक्टर नान्दी जुलियान्तोले हाल आयात भइरहेका सेल र मोड्युलहरू पछि स्थानीय रूपमै उत्पादन गरिने पुष्टि गरेका छन् ।
‘हाल टोयोटा मोटर म्यानुफ्याक्चरिङ इन्डोनेसियासँग टोयोटा किजाङ इनोभा जेनिक्स एचईभी, भेलोज एचईभी र यारिस क्रस एचईभीका लागि ब्याट्री बनाउन कारावाङ प्लाण्टमा ब्याट्री प्याक उत्पादन लाइन छ। इन्डोनेसियामा सीएटीएलसँगको रणनीतिक सहकार्यमार्फत हामी ब्याट्री एसेम्बली प्याकको उत्पादन क्षमता बढाउँदै ब्याट्री सेल र मोड्युलहरूको समग्र उत्पादनतर्फ अघि बढ्न खोजिरहेका छौं,’ उनले भने ।
यो परियोजनाले टोयोटा ब्याट्रीमा प्रयोग हुने आन्तरिक सामग्रीको स्तर बढाउने अपेक्षा गरिएको छ । एसेम्बलीमा मात्र सीमित हुँदा ८ प्रतिशत रहेको स्थानीय सामग्रीको हिस्सा, सेल र मोड्युल उत्पादन सुरू भएपछि ८० प्रतिशतसम्म पुग्न सक्ने अपेक्षा लिइएको छ ।
निर्यात योजनाले टोयोटाको क्षेत्रीय आपूर्ति श्रृंखलामा इन्डोनेसियाको भूमिका अझ ठूलो बनाउनेछ। कम्पनीका अनुसार यो कार्यक्रमले स्थानीय सवारी साधन उद्योग र वैदेशिक बजार दुवैलाई सहयोग गर्नेछ।
यो परियोजना टोयोटाको ‘मल्टी पाथवे’ रणनीतिसँग मेल खान्छ, जसमा हाइब्रिड, प्लग इन हाइब्रिड, ब्याट्री इलेक्ट्रीक, फ्युल सेल र बायो इथानोलबाट चल्ने फ्लेक्स फ्युल सवारी साधनहरू समावेश छन्।
इन्डोनेसियामा हाइब्रिड सवारीको बजार सन् २०२५ देखि निरन्तर बढ्दो क्रममा छ । सन् २०२४ को तुलनामा विद्युतीय सवारीको बिक्री ७१ प्रतिशतले बढेर १ लाख ७७ हजार ३६७ युनिट पुगेको छ । सन् २०२५ मा इन्डोनेसियामा कुल १ लाख २७ हजार ४२० युनिट विद्युतीय सवारी उत्पादन भएको थियो । जसमा हाइब्रिड ९७ हजार ४६२ युनिट अर्थात् कुल उत्पादनको ७६.५ प्रतिशत थियो।
चिनियाँ ब्याट्री निर्माता सीएटीएलको इन्डोनेसियामा पहिले नै ठूलो ब्याट्री परियोजना छ । सन् २०२५ जुनमा सीएटीएलले इन्डोनेसिया ब्याट्री कर्पोरेशन र पीटी एनेका तामबाङसँग मिलेर पश्चिम जाभाको कारावाङमा संयुक्त ब्याट्री प्लान्टको शिलान्यास गरेको थियो। १५ गेगावाट अवर वार्षिक क्षमता रहने अनुमान गरिएको यो परियोजना निकेल खानी, स्मेल्टर र ब्याट्री कारखाना समेत समावेश भएको वृहत्तर योजनाको हिस्सा हो।

