काठमाडौं । चालु आर्थिक वर्षको ४ महिनामा २ हजार ७८७ यूनिट विद्युतीय कार नेपाल प्रबेश गरेका छन् ।
यस अवधिमा साना ईभीको आयात तिब्र गतिमा बढेको छ । चालु आर्थिक वर्षको ४ महिनामा ५० किलोवाटभन्दा कम क्षमताका १ हजार २६७ यूनिट ईभी आयात भएको भन्सार विभागले तथ्यांक सार्वजनिक गरेको हो ।
विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ४ महिनामा भारतबाट सबैभन्दा धेरै साना ईभी १ हजार ६२ यूनिट आयात भएको छ भने चीनबाट २०५ यूनिट आयात भएको हो । भारतबाट सबैभन्दा धेरै टाटा टियागो र टिगोर ईभी आयात भएका हुन् ।
त्यसैगरी, ५० किलोवाटदेखि १०० किलोवाट क्षमताका मोटर भएको सेग्मेन्टमा चीन अगाडि छ । चालु आर्थिक वर्षको साउनदेखि कार्तिक मसान्तसम्ममा ५० देखि १०० किलोवाटका ईभी चीनबाट १ हजार ३४९ यूनिट आयात हुँदा भारतबाट केबल १३१ यूनिट मात्रै आएको देखिन्छ ।
अहिले १०० किलोवाटसम्म मोटर भएका ईभीमा बीवाइडी, एमजी र सेरेसको हिस्सा ठूलो छ । १०० किलोवाट माथि २०० किलोवाट सेग्मेन्टमा पनि १३ यूनिट कार चीनबाट आएको छ ।
भारत र चीनपछि सबैभन्दा धेरै ईभी इन्डोनेशियाबाट १२ यूनिट आयात भएको देखिन्छ । इन्डोनेशियाबाट आयात भएको कार ५० किलोवाटभन्दा कम क्षमताको हो । कोरियाबाट आयात निकै घटेको छ । चार महिनामा ५० देखि १०० किलोवाट सेग्मेन्टमा १ यूनिट र १०१ देखि २०० किलोवाट सेग्मेन्टमा २ यूनिट आयात भएको छ ।
चीनबाट २०१ देखि ३०० किलोवाट सेग्मेन्टमा ७ यूनिट र अमेरिकाबाट ३ यूनिट कार आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

