भारतीयलाई छैन ईभीमा विश्वास, बिक्री घट्दो

काठमाडौं । विश्वकै तेस्रो ठूलो कार बजारमा ईभीको बिक्री घट्दो क्रममा देखिएको छ । सन् २०२३ को तेस्रो क्वाटरमा भारतमा ईभीको बिक्रीमा १० प्रतिशतले गिरावट आएको हो ।

अक्टोबर महिनामा मात्रै करिब ४ लाख यूनिट कार बिक्री भएको भारतीय बजारमा जुलाईदेखि सेप्टेम्बर अन्त्यसम्ममा केबल २४ हजार २८ यूनिट ईभी बिक्री भएको छ । अहिले पनि भारतमा ईभीको बजार हिस्सा २ प्रतिशत हाराहारी मात्रै छ ।

बिश्वकै तेस्रो ठूलो अटोमोवाइल बजारमा ईभीको बिक्रीमा गिरावट आउनुलाई अटो पण्डितहरुले अर्थपूर्ण रुपमा हेरिरहेका छन् । सन् २०२२ को पहिलो क्वाटरदेखि निरन्तर बढिरहेको ईभीको बिक्री एक्कासी सन् २०२३ को तेस्रो क्वाटर घटेसँगै अटोपण्डितहरु छक्क परेका हुन् ।

सन् २०२३ को दोस्रो क्वाटरमा ईभीको बिक्री २६ हजार ७९४ यूनिट थियो । ईभीको बिक्रीमा गिरावट आएको भारतीय बजारमा तेस्रो क्वाटरमा स्ट्रङ हाइब्रिड कारहरुको बिक्री भने बढेको देखिन्छ ।

सन् २०२३ को दोस्रो क्वाटरमा १४ हजार ३९९ वटा स्ट्रङ हाइब्रिड गाडी बिक्री भएकोमा तेस्रो क्वाटरमा २२ हजार २२ वटा हाइब्रिड गाडी बिक्री भएको हो ।

भारतमा प्योर ईभी र स्ट्रङ हाइब्रिडको कुल बजार हिस्सा ४.२ प्रतिशत छ । तेस्रो क्वाटरसम्मको बिक्रीलाई आधार मान्दा टाटा मोटर्सले न्यू इनर्जी भेहिकलमा ७३ प्रतिशत बजार हिस्सा ओगटेको छ । दोस्रोमा एमजीको १६ प्रतिशत, महिन्द्रा ४ प्रतिशत, हुन्डाई ३ प्रतिशत, सिट्रोन २ तथा बीवाइडी र कियाले १/१ प्रतिशत बजार हिस्सा लिएका छन् ।

त्यस्तै, स्ट्रङ हाइब्रिडमा ७४ प्रतिशत बजार हिस्सासहित टोयोटा पहिलो स्थानमा छ । त्यसैगरी मारुती सुजुकीको २५ प्रतिशत र होन्डाको १ प्रतिशत बजार हिस्सा हाइब्रिड सेग्मेन्टमा छ ।

सन् २०२३ को तेस्रो क्वाटरमा १० हजार १८१ युनिट सहित टियागो ईभी बेस्ट सेलिङ विद्युतीय कार हो । हाइब्रिडमा भने १० हजार ३७४ युनिटसहित टायोटा इनोभा हाइक्रस पहिलो बनेको छ ।

विश्वब्यापी बढ्दो ईभीको प्रयोगलाई थन्काउँदै भारतीय उपभोक्ताको चासो इन्टरनल कम्बस्चन गाडीमा देखिनुलाई धेरैले अर्थपूर्ण रुपमा लिएका छन् । ईभीको बिक्रीमै गिरावट आएपछि वातावरणको क्षेत्रमा जोडिनेहरु भने चिन्तित बनेका छन् ।


Back_to_top