काठमाडौं । हुन्डाईको नयाँ जेनेरेशन कोना इलेक्ट्रीक पहिलेभन्दा ठूलो ४८.६ किलोवाट आवरको ब्याट्री साइजमा उपलब्ध हुने भएको छ । कम्पनीले यसको बिक्री अमेरिकी बजारबाट सुरु गरेको हो ।
नयाँ कोनाको मूल्य भने महंगो भएको अमेरिकी बजारमा चर्चा सुरु भएको छ । कम्पनीले झण्डै ३४ हजार डलर मूल्य कायम गरेर नयाँ जेनेरेशन कोनाको बिक्री सुरु गरेको हो ।
हुन्डाई कोनाको मूल्यलाई लिएर धेरै अमेरिकीहरुले महंगो भन्ने प्रतिक्रिया दिएका छन् । नेपाली बजारमा आगामी सन् २०२४ को पहिलो क्वाटरमा आउन लागेको कोनाको मूल्य कति पर्छ भन्ने एकिन भइसकेको छैन ।
अहिले नेपाली बजारमा ३९.२ किलोवाट आवरको ब्याट्री प्याकमा कोना उपलब्ध रहेको छ । यसको मूल्य ६० लाखदेखि ६५ लाख रुपैयाँसम्म रहेको छ । अब आउने कोनामा झण्डै ९.४ किलोवाट आवर ब्याट्री थप भएर आउने भएको कारण मूल्य थप महंगो हुन सक्ने देखिन्छ ।

हुन्डाईले नयाँ कोनामा ९९ किलोवाट र १५० किलोवाटको इलेक्ट्रीक मोटर उपलब्ध गराएको छ । नेपाल आउने कोनामा ९९ किलोवाटको मोटर रहने पक्का जस्तै छ । त्यसैगरी १५० किलोवाटको मोटरसँग भने ब्याट्री पनि ६४ किलोवाट आवरको ब्याट्री रहने छ ।
कम्पनीले यसमा पहिला लाग्दै आएको ७.२ किलोवाटको चार्जर सपोर्ट गर्ने क्षमतालाई बढाएर १०.८ किलोवाटको अन वोर्ड एसी चार्जर सपोर्ट गर्न सक्ने बनाएको छ । फास्ट चार्जर क्षमता पनि बढाएर १० देखि ८० प्रतिशत ४३ मिनेटमा पुरा हुने बनाएको हो ।


