काठमाडौं । निसान एक्सट्रेल ई-पावर मोडल नेपालमा बिक्री सुरु भएको छ । पायोनीयर मोटोकर्पले ई-पावर एक्सट्रेलको मूल्य १ करोड ८७ लाख रुपैयाँ तोकेर बिक्री सुरु गरेको हो ।
काठमाडौंमा आज एक कार्यक्रम आयोजना गरी नयाँ एक्सट्रेलको बिक्री सुरु भएको हो । कार्यक्रममा निसानको दक्षिण एशिया व्यापार हेड रघुनाथ नैरको उपस्थिति थियो ।
‘निसानको ई-पावर विश्वभर धेरै उपभोक्ताले मन पराएको टेक्नोलोजी हो । त्यसमा अझ नेपालमा ईभीको क्रेज बढी नै रहेको हामीले देखेका छौं । यस्तोमा नयाँ गाडीले तपाईलाई ईभीको अनुभव प्रदान गराउन सफल हुनेछ’ नैरले आफ्नो प्रजेन्टेशनमा भने ।
निसानले एक्सट्रेललाई ई-पावर नामबाट निकै ठूलो ब्राण्डिङ गरेको छ । यसमा १.५ लिटर टर्बो पेट्रोल इन्जिनको साथ इलेक्ट्रीक मोटर दिइएको छ । यसको इन्जिन पावर २०१ पीएस छ भने इलेक्ट्रीक मोडमा २११ पीएस पावर पाउन सकिन्छ । कम्पनीले फुल अप्सन फोर ह्वील ड्राइभ एक्सट्रेल नेपाल ल्याएको हो ।
कार्यक्रममा पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीप सारडाले भने, ‘एक्सट्रेल एक बहुउपयोगी एसयूभी हो । निकै ठूलो, आरामदायी र नविन टेक्नोलोजीको मिश्रण बनेर आएको कारण यसले धेरैको मन जित्ने हामीले विश्वास गरेका छौं ।’

नियमित मोडल एक्सट्रेलकै फेसलिफ्ट भर्सनको रुपमा आएको नयाँ मोडल पेट्रोल खपतको आधारमा निकै किफायती मानिएको छ । यसलाई न्यू इनर्जी भेहिकलको रुपमा लिने गरिन्छ । इलेक्ट्रीक कारलाई जस्तो यसलाई चार्ज गर्न विजुलीमा जोडिरहनु पर्दैन । यसले प्रतिलिटर २० किलोमिटर माइलेज प्रदान गर्छ । जुन यति ठूलो गाडीमा निकै राम्रो हो ।
नयाँ एक्सट्रेलमा १८ इन्चको ह्वील, सबै एलइडी लाइट, मोसन भि सेप ग्रिल, ठूलो पानारोमिक शनरुफ, ५८५ लिटरको ठूलो बुट स्पेस पाउन सकिन्छ ।
निसानको प्रो-पाइलट टेक्नोलोजी प्रयोग गरिएको कारमा एडाप्टीभ क्रुज कन्ट्रोल लगायत एडास फिचर यसमा रहने छ । प्रो-पाइलट पार्किङ सुविधा समेत पाउन सकिन्छ ।
नयाँ एक्सट्रेलको ड्यासबोर्ड पनि निकै आकर्षक छ । डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, १२.३ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, हेडअप डिस्प्ले लगायतका फिचर छन् ।


