काठमाडौं । आज सन् २०२४ को पहिलो दिन । सन् २०२३ अटोमोबाइलको लागि विश्वभर स्वर्ण रहयो । नेपालमा चलेको आर्थिक मन्दी लगायतको कारण धेरै उत्साह आउन सकेन । तर, विद्युतीय साधनमा भएको बढोत्तरी नेपालको लागि शुभ संकेत बन्यो ।
साना कमर्शियल गाडीमा पनि इलेक्ट्रीकले निकै बलियो प्रभाव पार्न सफल भयो । अझ, भनौं २०२३ साना विद्युतीय सार्वजनिक यातायातको क्षेत्रमा एउटा नयाँ अध्याय लेख्न सफल भयो । एक वर्षमा नै झण्डै १ हजार यूनिट लाइट कमर्शियल भेहिकल नेपाल आउनु निकै उत्साहपूर्ण मान्न सकिन्छ ।
एक वर्षमा आयात भएका १ हजार विद्युतीय गाडीले पेट्रोलियम पदार्थको विकल्प दिएको छ । यसले आर्थिक हिसाबले कति लाभ दिन्छ अहिल्यै भन्न सकिने अवस्था छैन । तर, यी गाडीले दैनिक जोगाउने कम्तीमा ३० हजार लिटर डिजेल र प्रयोग गर्ने ८० यूनिट बिजुली नेपालको लागि नयाँ आयाम भने भइसकेको छ ।
लाइट कमर्शियल सेग्मेन्टमा आएका माइक्रो भ्यानहरूसँगै कारको आयात तीव्र भएको छ । नेपालमा अहिलेसम्म १० हजार यूनिट विद्युतीय कारको आयात पूरा भएको छ । त्यसमध्ये अधिकांश कार पछिल्ला ३ वर्षमा आयात भएका हुन् । यी कारमा नेपालले खर्च गरेको रकम र त्यसले देशको अर्थतन्त्रमा गरेको योगदानका विषयमा छुट्टै छलफल गर्नु उचित होला ।
चीन, अमेरिका, भारत, जापान, जर्मनी, ब्राजिल, दक्षिण कोरिया, बेलायत जस्ता देशमा गाडीको बिक्री बढेको छ । तर, नेपाल जस्ता कमजोर आर्थिक अवस्था भएका देशलाई कोभिड १९ पछि आएको मन्दीले गाँजेको देखिन्छ ।
तर, विद्युतीय साधनमा धेरै देशले विश्वास नगरेको समयमा नेपालमा कुल कार बिक्रीको ६५ प्रतिशत विद्युतीय पुग्नु आफैँमा नयाँ रेकर्ड हो । हामी विश्वकै धेरै ईभी ‘एडप्टेशन’ भएको देश बनेका छौं ।
अब कुरा गरौं विश्व अटोमोबाइल क्षेत्रको बारेमा । विश्वभर ईभी बाहेक अरू विषयको चर्चा कम हुँदै गयो । अधिकांश देशमा मिडियाका समाचारहरूमा ९० प्रतिशत हिस्सा ईभीले पाउन थाले । मिडिया हेर्दा लाग्छ अब विश्वभर ईभीको मात्रै उत्पादन र बिक्री हुन्छ । तर, यी सबै घटनाका बीच अहिले पनि इन्टरनल कम्बस्चन इन्जिन भएका साधनको बिक्री उच्च छ ।
टोयोटाले इतिहासकै सबैभन्दा धेरै यूनिट कार २०२३ मा बिक्री पूरा गरेको समाचार आएका छन् । फक्सवागेनले पनि पछिल्ला दुई वर्षको भन्दा बिक्री बढाएको छ । सुजुकीको बिक्रीमा पनि उछाल आएको छ । हुन्डाई मोटर ग्रुपले पनि आफ्नो बिक्री बढाएको छ । समग्रमा बजारको साइज बढ्दा गाडीको बिक्री बढेको हो ।
अझ न्यू इनर्जी भेहिकल उत्पादनमा रहेका बीवाइडी र टेस्ला जस्ता ब्राण्डले चल्तीका ठूला ब्राण्डलाई धक्का दिए । चीनमा रहेका स्थापित ब्राण्डदेखि स्टार्टअप कम्पनीसम्मले ईभी उत्पादनमा ठूलो लगानी गरेका छन् ।
चीन, अमेरिका, भारत, जापान, जर्मनी, ब्राजिल, दक्षिण कोरिया, बेलायत जस्ता देशमा गाडीको बिक्री बढेको छ । तर, नेपाल जस्ता कमजोर आर्थिक अवस्था भएका देशलाई कोभिड १९ पछि आएको मन्दीले गाँजेको देखिन्छ ।
सन् २०२३ मा भएको बिक्रीलाई ठूला अर्थतन्त्र भएका देशले निकै अगाडि लगे । हाम्रा जस्ता देशले भने आर्थिक मन्दीको मार झेल्नु परेको थियो । सन् २०२४ सबैको समृद्धिमा अगाडि बढोस् ।


