काठमाडौं । चीनको सबैभन्दा ठूलो विद्युतीय सवारी उत्पादक बीवाइडीको अन्तर्राष्ट्रिय व्यापार साढे ४ गुणाले बढेको छ । कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२३ मा कार निर्यात ३३६ प्रतिशतले बढेको हो ।
बीवाइडी तथा चिनियाँ भन्सार कार्यालयको तथ्यांक अनुसार सन् २०२३ मा २ लाख ४२ हजार ७५९ वटा गाडी निर्यात भएको छ । यो अघिल्लो वर्ष ९सन् २०२२ कोभन्दा १ लाख ८७ हजार १०३ वटा बढी हो । अघिल्लो वर्ष जम्मा ५५ हजार ६५६ वटा मात्रै गाडी निर्यात भएको थियो ।
सन् २०२२ मा बीवाइडीको कुल बिक्रीमा अन्तर्राष्ट्रिय बिक्रीको हिस्सा ३ प्रतिशत मात्र रहेकोमा सन् २०२३ मा बढेर ८।१ प्रतिशत पुगेको छ । बीवाइडीले २०२३ भरिमा २ लाख ११ हजार ६३ वटा ब्याट्री इलेक्ट्रीक तथा ३१ हजार ६९६ वटा प्लगइन हाइब्रिड भेहिकल निर्यात गरेको हो ।
बीवाइडीले सबैभन्दा धेरै एटो ३ निर्यात गरेको छ । कम्पनीले १ लाख २० वटा एटो ३ विदेश पठाएको हो । दोस्रोमा ७४ हजार ८८४ वटा डल्फिन निर्यात भएको छ । तेस्रो धेरै निर्यात हुने मोडलमा भने प्लगइन हाइब्रिड सोङप्लस ९सिल यू० २८ हजार १८२ वटा निर्यात भएको छ ।

चौथोमा सिल २३ हजार ६०६, पाँचौंमा डिस्ट्रोयर ४ हजार २४१, छैठौंमा सिगल २ हजार ५०४ वटा निर्यात गरेको छ । त्यस्तै गत वर्ष ई-६ २ हजार ५०४ तथा हान २ हजार ४०६ र ट्याङ १ हजार ९१० वटा निर्यात भएको तथ्यांक छ ।
न्यू इनर्जी भेहिकल अन्तर्गत प्योर ब्याट्री इलेक्ट्रीक भेहिकल र प्लगइन हाइब्रिड भेहिकल मात्र उत्पादन गरिरहेको बीवाइडीले पछिल्लो समय विश्व बजारमा आफ्नो प्रभुत्व जमाउँदै गएको देखिन्छ ।


