दुई दिनमा २ नयाँ कार सार्वजनिक हुँदै

काठमाडौं । नेपाली बजारमा समेत बिक्री वितरणको लागि उपलब्ध हुने दुई नयाँ एसयूभी लगातार दुई दिनमा सार्वजनिक हुने भएको छ । हुन्डाई र टाटाले आफ्ना सफल मोडल क्रेटा र पन्चको नयाँ मोडल भारतीय बजारमा ल्याउन लागेका हुन् ।

भारतमा बिक्री सुरु भएको केही महिनामा नै यी दुबै मोडल नेपाली बजारमा उपलब्ध हुनेछन् । हुन्डाईले आफ्नो सफल कम्प्याक्ट एसयूभी क्रेटाको डिजाइनमा नै परिवर्तन गरेर ल्याउन लागेको हो । आगामी मंगलबार जनवरी १६ तारिखमा क्रेटा भारतमा बिक्री सुरु हुँदैछ ।

टाटा मोटर्सले भारतीय बजारमा ल्याएदेखि नै निरन्तर सफलता पाइरहेको पन्च माइक्रो एसयूभीको इलेक्ट्रीक भर्सन बुधबार जनवरी १७ तारिखबाट बिक्री सुरु हुन लागेको हो ।

हुन्डाई र टाटाले आफ्ना यी दुबै एसयूभीको बुकिङ भने खुल्ला गरिसकेका छन् । यी दुबै एसयूभी भारतमा निकै राम्रो बिक्री पाएर धेरै बिक्री हुने १० मोडलमा निरन्तर पर्दै आएका छन् ।

हुन्डाई क्रेटा

हुन्डाईले भारतमा शाहरुख खान र दीपीका पादुकोणलाई ब्राण्ड एम्बेष्डर बनाएर क्रेटाको बिज्ञापन सुरु गरेको छ । नयाँ डिजाइनमा भर्टिकल एलइडी हेडलाइट, नयाँ एल सेपको कनेक्टेड डीआरएल, कनेक्टेड टेल लाइट, क्रोम इन्सर्ट भएको ग्रिल डिजाइन र १८ इन्चको ह्वील दिएको छ ।

यसको क्यावीन र विण्डअपमा ठूलो परिवर्तन गरिएको छ । नयाँ क्रेटामा १९ प्रकारका स्मार्टसेन्स सेफ्टी फिचर पाउन सकिन्छ । जसमा ३६० डिग्री क्यामरा सहितको लेवल २ को एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडास) दिएको हो । क्रेटाको टप भेरियन्टमा ७० भन्दा धेरै सेफ्टी फिचर छन् ।

क्रेटाको ड्यासबोर्डमा पनि ब्यापक परिमार्जन पाउन सकिन्छ । नयाँ डिजाइनको १०.२५ इन्चको इन्ट्री ग्रेटेड इन्फोटेन्मेन्ट, हुन्डाई ब्लुलिङ्क कनेक्टीभीटी, ८ वटा स्पीकरसहितको बोसको प्रिमियम म्यूजीक सिस्टम दिइएको छ ।

नयाँ हुन्डाई क्रेटामा भेन्टीलेटेड सिट, ८वे पावर ड्राइभर सिट, प्यानारोमीक सनरुफ, डिउल जोन अटोमेटिक क्लाइमेट कन्टोल जस्ता आधुनिक फिचर छन् ।

टाटा पन्च ईभी

पन्च ईभी टाटाको बहुप्रतिक्षित मोडल हो । कम्पनीले एक्टी ईभी प्लेटफर्ममा पन्चलाई तयार पारेको हो । यसअघि जीपट्रोन प्रविधि प्रयोग गर्दै आएको टाटाले नयाँ प्लेटफर्ममा यसलाई ल्याउन लागेको हो ।

कम्पनीले पन्च ईभीमा २५ र ३५ किलोवाट आवरको दुई ब्याट्री अप्सन दिएर ल्याउन लागेको हो । टाटा नेक्सन भन्दा केही सानो ब्याट्रीमा पन्च आउने छ । नेक्सनमा भने ३० र ४० किलोवाट आवरको ब्याट्री रहेको छ ।

कम्पनीले नेक्सन जस्तै पन्च ईभीलाई पनि मिड रेन्ज र लङ रेन्ज नाम दिएर ल्याउन लागेको हो । तर, नयाँ एक्टी ईभी प्लेटफर्ममा भएको कारण यसको पर्फमेन्स राम्रो रहने कम्पनीको दावी छ ।

यसमा रहेको ब्याट्रीलाई लिक्विड कुल्ड ब्याट्री र फ्रन्ट ह्वील ड्राइभ सिस्टम सहित पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर दिएर ल्याउन लागेको हो ।

टाटाले पन्च ईभीमा १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम र ७ इन्चको इन्फर्मेशन डिस्प्ले दिएको बताइन्छ । चार वटै चक्कामा डिस्क ब्रेक, टु स्पोक स्टेरिङ ह्वील जस्ता फिचर यसमा रहने छन् ।


Back_to_top