काठमाडौं । सन् २०२२ मा टाटाले फोर्डसँग किनेको गुजरात प्लान्टबाट उत्पादन सुरु भएको छ । कम्पनीले गुजरात प्लान्टलाई इलेक्ट्रीक कार उत्पादनमा केन्द्रित गर्दै नेक्सन ईभी उत्पादन थालेको हो ।
कम्पनीले उक्त प्लान्टबाट जनवरी १०, २०२४ मा पहिलो पटक नेक्सन ईभी उत्पादन गरेर नयाँ युगको लागि टाटा तयार रहेको जनाउ दिएको हो । कम्पनीले तयार गरेको नयाँ सुविधासहितको प्लान्टबाट वार्षिक ३ लाख यूनिट विद्युतीय कार उत्पादन हुन्छ ।
अहिले उक्त प्लान्टबाट टाटाले नेक्सन ईभी, टिगोर ईभी, टियागो ईभी र पन्च ईभी उत्पादन गर्नेछ । कम्पनीले पन्च ईभीको बिक्री तीन दिनपछि जनवरी १७ बाट गर्दैछ ।
नयाँ प्लान्टबाट उत्पादन सुरु गरेको अवसरमा टाटा मोटर्स प्यासेन्जर कार यूनिटका प्रबन्ध निर्देशक शैलेस चन्द्राले भने, ‘नयाँ स्टेट अफ आर्ट म्यानुफ्याक्चरिङ यूनिटले नयाँ इनर्जी भेहिकलमा टाटालाई बलियो बनाउने छ । अहिले हामीले वार्षिक ३ लाख यूनिट क्षमताको प्लान्ट संचालनमा ल्याएका छौं । यसलाई बढाएर ४ लाख २० हजार यूनिटसम्म बनाउन सकिन्छ ।’
टाटाको नयाँ प्लान्टमा अहिले एक हजार जनशक्तिले काम गरिरहेको कम्पनीको भनाइ छ । अबको ३ देखि ४ महिनामा थप एक हजार जनशक्ति थपिने छ ।
कम्पनीले निकट भविष्यमा ल्याउने कर्भ, ह्यारीयर र सफारी ईभी पनि यहि प्लान्टमा उत्पादन गर्नेछ ।

