चन्द्रपूरमा बन्यो २ करोड ७५ लाखमा चार्जिङ स्टेशन, एकै पटक १० साधन चार्ज हुने

काठमाडौं । रौतहटको चन्द्रपूर नगरपालिकामा २ करोड ७५ लाख रुपैयाँ लागतमा चार्जिङ स्टेशन संचालनमा आएको छ । चन्द्रपूर नगरपालिकाको नेतृत्वमा मधेश प्रदेश सरकारको सहयोगमा उक्त चार्जिङ स्टेशन निर्माण भएको हो ।

हाइवे यात्रामा विद्युतीय गाडी लिएर निस्कने चालक र यात्रुले चन्द्रपूर नगरपालिकामा रहेको चार्जर प्रयोग गर्न सक्नेछन् । उक्त चार्जर डिसी फास्ट चार्जर हुन् ।

पहिलो पटक मधेश प्रदेशकै सबैभन्दा ठूलो चार्जिङ स्टेशन संचालनमा आएको भन्दै चन्द्रपूर नगरपालिकाका मेयर संजय काफ्ले भन्छन, ‘देशको आवश्यकता अनुसार पेट्रोलियम पदार्थको आयात कम गर्न र आफ्नै देशमा उत्पादन भएको विजुली बेच्न यस्ता चार्जिङ स्टेशनले ठूलो सहयोग पुग्छ ।’

चन्द्रपूरमा निर्माण भएको चार्जिङ स्टेशनमा २ वटा ३०/३० किलोवाटको सीसीएस-२ र २ वटा जिबीटी पोर्ट रहेका छन् । यसका अलावा दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीसाधन चार्ज गर्न अरु ६ वटा गन प्रयोग गरिएको छ । समग्रमा एक पटकमा १० वटा सवारीसाधनले यहाँ चार्जिङ सुविधा पाउने छन् ।

आजबाट संचालनमा आएको उक्त चार्जिङ स्टेशनमा आफ्नो गाडी चार्ज गरिरहेका स्थानिय निवासी दिवाकर सापकोटाले भने, ‘यसअघि तत्काल चार्ज गर्नु परेको खण्डमा विकल्प थिएन । हेटौडा र हरिवन मध्ये एक स्थानमा पुग्नु पर्ने बाध्यता थियो । अहिले आफ्नै ठाँउमा चार्जर संचालनमा आएको छ । अब ठुक्कले ईभी चढ्न पाउने भइयो ।’

मधेस प्रदेशकै गौरबको आयोजनाको रुपमा तयार भएको यो चार्जिङ स्टेशनले चन्द्रपूर नगरपालिकामा क्लिन इनर्जी भेहिकल प्रयोग बढाउन सहयोग पुग्ने विश्वास नगरपालिकाले लिएको छ ।


Back_to_top