काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले मोटरसाइकलको स्वरुप फेर्ने ८ वर्कसपलाई कारबाही गरेको छ । मोटरसाइकलको स्वरुप आवाज परिवर्तन गरेको भन्दै ट्राफिक प्रहरी कार्यालय कास्कीले चेकजाँच तिब्र बनाएको हो ।
अहिलेसम्म प्रहरीले ६ सय ८१ वटा स्वरुप फेरेर चर्को ध्वनी प्रदुषण गर्ने मोटरसाइकल नियन्त्रणमा लिएर कारवाही गरेको हो । मोडिफाइ गरिएका मोटरसाइकल चालक पहिलो पटक कारबाहीमा परेको भए अभिभाबको साथ लगाएर सुधार भनिएको छ । नभए, कारबाही अगाडि बढाइएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले कारवाही गरेका वर्कसपमा पोखरा ८, सिर्जनाचोकको ३६० मोटर्स वर्कसप, सिमलचौरको पोखरा कस्ट्युम्स वर्कसप, बुम इन्फिल्ड सर्भिस सेन्टर रहेका छन् ।
त्यस्तै, नयाँबजारमा रहेको रोयल इन्फिल्ड शोरुम, लामाचौरको चौधरी मोटरसाइकल वर्कसप, रानीपौवाको न्यु दीपज्योति अटो पार्टस, सोही ठाउँको दीपक वर्कसप र मालेपाटनको क्लासिक मोटरसाइकलका संचालकहरुलाई कारबाही गरेको प्रहरीको भनाइ छ ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम स्वीकृति नलिई सवारी साधनको साईलेन्सर, सिट, रंग, स्वरूप, नम्बर प्लेट, लुकिङ ग्लास, सक, ह्याण्डल, इन्जिन, च्यासिसमा परिवर्तन गर्ने वा ध्वनी हुने खालका पार्टपुर्जा जडान गर्ने र गराउने दुबैलाई १० हजारसम्म जरिवाना गर्ने ब्यवस्था गरिएको छ ।

