काठमाडौं । बीवाइडीले आफ्ना विद्युतीय कारको मूल्य घटाउँदै लगेको छ । कम्पनीले २०२४ लागेसँगै आफ्ना मोडलहरु अपग्रेड गर्दै मूल्य घटाएको हो ।
चिनियाँ बजारमा बिक्री हुँदै आएका र अन्तर्राष्ट्रिय बजारमा समेत बिक्री हुँदै आएका मोडलहरुको मूल्य घटाउने कार्यले निरन्तरता पाएको हो । कम्पनीले सिगलको मूल्यपनि ५५५ अमेरिकी डलरले मूल्य घटाएको छ ।
मिनी डल्फीन भनिने सिगल बीवाइडीको अन्तर्राष्ट्रिय मोडल हो । कम्पनीले दक्षिण अमेरिकी देशमा बिक्री सुरु गरेको सिगलको मूल्य चीनमा ९ हजार ७०० अमेरिकी डलर कायम गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा यसलाई सिगल ‘लेम्बर्गीनी मिनी’समेत भन्ने गरिएको छ । लेम्बर्गीनी मिनी चाहिँ यसको लुक्सका कारण नभइर लेम्बर्गीनीका पूर्व डिजाइनर उल्फग्याङ इगरले डिजाइन गरेको कारण भनिएको हो ।
बीवाइडीले सिगलमा अनर एडिसनसँगै नयाँ कलर आइस व्लुसमेत लन्च गरेको छ । यो ईभीमा ५५ किलोवाट पावरको मोटर रहेको छ । जसले १३५ न्यूटन मिटर टर्क प्रदान गर्छ । यसमा ३०.०८ किलोवाटआवर र ३८.८८ किलोवाट अवारको दुई फरक ब्याट्री प्याक दिइएको छ ।
सन् २०२३ को अप्रिलमा संघाइ अटो शोमा सार्वजनिक भएको सिगल प्रत्येक महिना राम्रो संख्यामा बिक्री भइरहेको मोडल हो । सिटी कारको रुपमा प्रयोग हुने ५ ढोका भएको ह्याचव्याक सन् २०२३मा २ लाख ८० हजार २१७ यूनिट बिक्री भएको थियो ।
बीवाइडीले हालसम्म लेफ्ट ह्याण्ड ड्राइभ सिस्टमा मात्र बनाएकाले सिगल राइट ह्याण्ड ड्राइभमा आएसँगै नेपाल आउने अनुमान गर्न सकिन्छ । बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले अहिले डल्फीन, एटो–३ र सिल मोडल बिक्री गर्दै आएको छ ।


