काठमाडौं । कोरियन अटो ग्रुप हुन्डाई मोटर्सको कम्प्याक्ट एसयूभी हुन्डाई क्रेटा र किया सेल्टोस नेपालमा पनि सफल मोडल हुन् । यी दुबै मोडल भारतीय बजारमा उत्पादन भएका हुन् ।
विगत ६ महिनाको फरक पारेर दुबै कम्पनीले आफ्ना सफल एसभूभीलाईअपग्रेड गरेका छन् । अब चाँडै यी दुबै मोडल नेपाली बजारमा उपलब्ध हुने तयारी आधिकारीक बिक्रेताहरुले गरिरहेका छन् ।
भारतमा फेसलिफ्ट मोडलको रुपमा बिक्री सुरु भएको हुन्डाई क्रेटा सन् २०१६ देखि नै बजारमा उपलब्ध छ । क्रेटाले भारतमा १० लाख यूनिटभन्दा बढी बिक्री पाइसकेको छ । किया सेल्टोस सन् २०१९ बाट भारतमा उत्पादन सुरु भएको मोडल हो । यसको बिक्री पनि ३ लाख यूनिट पुरा भएको छ ।
एउटै मोटर ग्रुपले ल्याएका दुई फरक मोडलका बीच फिचरमा रहेका फरकलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।
डायमेन्सन र साइज
एउटै प्ल्याटफर्ममा बनेकाले दुबै एसयूभीको साइज लगभग समान रहेको छ । डिजाइन अनुसार केहि एमएम सानो ठूलो रहेता पनि दुबै एसयूभीको ह्वीलवेस २६१० एमएमको हो । हुन्डाई क्रेटाको लम्बाई ४३३० एमएम, चौडाई १७९० एमएम तथा १६३५ एमएमको उचाई रहेको छ ।

त्यस्तै किया सेल्टोसको लम्बाई ४३६५ एमएम, चौडाई १८०० एमएम तथा १६४५ एमएमको उचाइ रहेको छ । दुबै एसयूभीको ग्राउण्ड क्लियरेन्स पनि समान १९० एमएमको रहेको छ ।
साइजलाई आधार मान्दा किया सेल्टोस हुन्डाई क्रेटाभन्दा केहि एमएमले ठूलो छ । किया सेल्टोसको ‘एक्स लाइन’ टप भेरियन्टमा १८ इन्चको ह्वील दिएको छ, भने क्रेटाको सबै भेरियन्टमा समान १७ इन्चको ह्वील पाउन सकिन्छ ।
क्यावीन फिचर
दुबै एसयूभीमा अटोमेटीक एलइडी हेडल्याम्प, कनेक्टेड एलइडी डीआरएल, कनेक्टेड १०.२५ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम र १०.२५ इन्चकै फुल्ली डिजिटल डिस्प्ले पाउन सकिन्छ ।

कनेक्ट कारटेक, प्यानारोमिक सनरुफ, ३६० डिग्री क्यामेरा, भेन्टीलेटेड फ्रन्ट सिट, एम्बीयन्ट लाइट, बोसको अडियो सिस्टमसहिनको ८ स्पीकर दुबैमा पाउन सकिन्छ ।
त्यस्तै दुबै मोडलमा ६ वटा एयरव्याग, इलेक्ट्रोनीक स्टेबीलीटी प्रोग्राम, फ्रन्ट तथा रियर पार्किङ सेन्सर, टायर प्रेसर मोनिटरिङ, व्लाइन्ड स्पट भ्यूमोनिटर, अडाप्टीभ क्रुज कन्ट्रोल, लेनकिप असिस्ट, लेन चेन्ज असीस्ट, एडासको लेवल २ सुरक्षा फिचर छन् ।

सेल्टोसमा थप फिचरको रुपमा हेडअप डिस्प्ले, रेन सेन्सीङ वाइपर, मल्टि कलर एम्बीयन्ट लाईट, इन्ट्रुमेन्टल क्लस्टरमा डाइनामीक मोड दिइएको छ । त्यस्तै क्रेटामा पडल ल्याम्प तथा कुल्ड ग्लोब बक्स जस्ता थप फिचर अतिरिक्त पाउन सकिन्छ ।
इन्जिन र पावर
हुन्डाई क्रेटा र किया सेल्टोस दुबैको फेसलिफ्ट मोडलमा समान इन्जिन अप्सन उपलब्ध छ । दुबै एसयूभीमा १.५ लिटरको नेचुरल्ली एस्पीरेटेड पेट्रोल र डिजेल इन्जिन छ । साथै, १.५ लिटरको टर्बो चार्ज पेट्रोल इन्जिन पाउन सकिन्छ ।
दुबै कारको पावर र टर्क पनि समान नै छ । गियरबक्स भने फरक पाउन सकिन्छ । क्रेटा डिजेल इन्जिनसँग ६ स्पीड टर्क कन्भर्टर र म्यानुअल गियरबक्स छ । किया सेल्टोसमा ६ स्पीडको आर्ईएमटी तथा ६ स्पीडकै टर्क कन्भर्टर अटोमेटिक गियर अप्सन दिएको छ ।
क्रेटाको टर्बो पेट्रोल इन्जिनसँग ७ स्पीडको डीसीटी अटो गियरबक्स मात्र दिएको छ भने कियाको टर्बो पेट्रोलसँग ६ स्पीडको आईएमटी गियरबक्स समेत छ ।
क्रेटा र सेल्टोस दुबैको नेचुरल्ली एस्पीरेटेड इन्जिनसँग ६ स्पीडको म्यानुअल र ६ स्पीडकै सीभीटी अटोमेटीक गियरबक्स पाउन सकिन्छ ।
माइलेजमा कति फरक ?
हुन्डाई क्रेटाले भेरियन्ट अनुसार १७.४ देखि २१.८ किलोमिटर प्रतिलिटरको माइलेज दिने एआरएआईले प्रमाणित गरेको छ । किया सेल्टोसले भने १७ देखि २०.७ किलोमिटरसम्म माइलेज दिने एआरएआई परिक्षणले देखाएको छ ।

