काठमाडौं । एमजीले कोमेट ईभीलाई केही अपग्रेड गरेर बजारमा ल्याएको छ । कम्पनीले २०२४ मोडलको रुपमा ल्याएको कोमेट ईभीले ७.४ किलोवाटको एसी फास्ट चार्जर सपोर्ट गर्ने भएको हो ।
यसअघि ३.३ किलोवाट क्षमताको चार्जर मात्रै सपोर्ट गर्ने कोमेट अब भने ७.४ किलोवाटको चार्जरले चार्ज गर्न सक्ने भएको हो । कोमेट ईभीमा १७ किलोवाट आवर क्षमताको ब्याट्री रहेको कारण २ घन्टा ३० मिनेटमा नै ७ किलोवाटको चार्जरले फुल चार्ज हुने अनुमान गर्न सकिन्छ । कम्पनीले यसको चार्जिङ अवधिको बिषयमा भने केही जानकारी दिएको छैन ।
भारतमा मूल्य घटेर ६ लाख ९९ हजारदेखि ९ लाख १४ हजार भारतीय रुपैयाँसम्म कायम भएको कोमेट यसअघि पिस, प्ले र प्लस भेरियन्टमा उपलब्ध थियो । कम्पनीले यसको नाम परिवर्तन गरेर एक्जुकेटीभ, एक्साइट र एक्सक्लूसीप बनाएको छ ।
तीन मध्ये दुई भेरियन्ट एक्साइट र एक्सक्लूसीपमा ७.४ किलोवाट क्षमताको एसी चार्जर सपोर्ट गर्ने बनाएको हो । यस बाहेक पनि थुप्रै फिचर यी दुबै भेरियन्टमा थप भएका छन् ।
चारवटै चक्कामा डिस्क बेक, इलेक्ट्रोनिक्स पार्किङ ब्रेक, इएससी, पवार फोल्ड ओआरभीएम, १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, स्टेरिङ माउन्ट कन्ट्रोल बटम पाउन सकिन्छ । टायर प्रेसर मोनिटर, पार्किङ सेन्सर, रियर पार्किङ क्यामेरा, दुई एयरब्याग जस्ता सुरक्षा फिचर छन् ।


