प्योर ईभीले ठगेको भन्दै सोशल मिडियामा आक्रोस

काठमाडौं । प्योर ईभी बिक्रेताले उपभोक्तालाई स्कुटर बिक्री गरेपछि कुनै किसिमको सर्भिस नदिएको र आफैँले तोकेको वारेन्टी पनि नदिएको गुनासो बढ्दै गएको छ । प्योरका स्कुटर टेक्नीकल्ली पनि समस्यामा रहेको भारतमा घटेका थुप्रै घटनाले पुष्टि गर्छ ।

नेपालमा पनि विगत लामो समयदेखि ह्वाइट लोटर मोटर्सले प्योर ईभीका उत्पादन बिक्री गर्दै आएको छ । यसरी बिक्री भएका स्कुटर उपभोक्तालाई आयातकर्ता कम्पनीले दुःख दिइरहेको उपभोक्ताहरुको गुनासो छ ।

सागर पाण्डे नामका एक उपभोक्ताले इलेक्ट्रीक भेहिकल ग्रुपमा लामो अनुभव लेखेका छन् । उनले सुरुमै लेखेका छन्, ‘पिडित उपभोक्ताले लेखेको कमेन्टहरु एड्मिनले डिलेट गर्ने र उपभोक्ताको समस्या नसुन्ने अवस्था छ ।’

उनले २२ महिना अघि प्योर ईभीको इप्लुटो स्कुटर खरिद गरेको, किन्दा ३ वर्ष अथवा ४० हजार किलोमिटर जुन पहिला आउँछ, त्यो बराबर वारेन्टी दिएको थियो । तर, किनेको १८ महिनापछि नै रेन्ज घटेर आफुले दुःख पाएको उल्लेख गरेका छन् ।

सर्भिस सेन्टरमा लगेर ब्याट्री बनाएको, बनाउन १० दिन लगाएको र बनेको केही दिनमै उस्तै अवस्थामा पुगेको उल्लेख गर्दै उनले लेखेका छन्, ‘बारम्बार समस्या आएपछि बनाउन दिएको छु । अहिले फोन गर्दा बनाउँदै छ भन्छन् । एक महिना भयो बनेको छैन ।’

वारेन्टी अवधिमा पनि कुनै किसिमको सहयोग कम्पनीले दिएन । आफैं परिवर्तन गर्न १ लाख १५ हजारभन्दा बढी लाग्छ भन्दै पाण्डेले लेखेका छन्, ‘२ लाख ५० हजारमा किनेको स्कुटर ११ हजार किलोमिटर गुड्यो । बिक्री गर्न खोज्दा ३० हजार दिन्छु भन्छ ।’

आफ्नो लामो गुनासो लेखेपछि पाण्डेले लेख्छन्, ‘संचालन खर्च कम पर्छ भनेर सस्तो बिज्ञापन गर्नेहरुको भर नपर्नु ।’

उनले लेखेको स्टाटसमा आफ्नो पनि त्यस्तै समस्या रहेको भन्दै कमेन्ट गर्नेहरु बढी रहेका छन् ।


Back_to_top