भारतीय कार बजार परिवर्तन गर्ने ४ एसयूभी, नेपालमा भने प्रभाव घट्दै

काठमाडौं । भारतीय कार बजारमा एसयूभीको बिक्रीले हरेक महिना रेकर्ड बनाइरहेको छ । विशेषगरी हुन्डाई क्रेटा, महिन्द्रा स्कर्पियो एन, सुजुकी ब्रेजा र टाटा नेक्सनले एकपछि अर्को रेकर्ड बनाएका हुन् ।

साना र मझौला कारको बजारमा मारुती सुजुकी, हुन्डाई, महिन्द्रा र टाटाका उत्पादनले बलियो पकड बनाएका हुन् । भारतमा उपलब्ध यी सबै एसयूभी नेपाली बजारमा उपलब्ध रहेका छन् । तर, बढ्दो विद्युतीय कारको क्रेजमा पेट्रोल कारको बिक्री ठप्प हुँदा नेपालमा यी एसयूभीको प्रभाव छैन भन्दा फरक पर्दैन ।

टाटा नेक्सन ईभीले नेपालमा पछिल्ला दुई वर्ष निकै राम्रो ब्यापार गरेको थियो । तर, अहिले त्यसको पनि ब्यापार तुनात्मक रुपमा घटेको छ । त्यस बाहेक अन्य मोडल ईभीको रुपमा बजारमा आएका छैनन् ।

फेब्रअरी २०२४ को बिक्री नियाल्दा

कुनै समय साना कारले मात्रै १०/११ हजार यूनिट बिक्री तथ्यांक कटाउने भारतमा सन् २०२२ देखि निरन्तर एसयूभी मोडलको बिक्री बढ्दै गएको छ । उसोत सन् २००२ मा बजारमा आएको महिन्द्राले अलगै पहिचान निर्माण गरेको थियो ।

त्यसपछि २०१५ मा बजारमा आएको हुन्डाई क्रेटाले एसयूभी क्रेजलाई रफ्तार दियो । सन् २०२० आइपुग्दा भारतमा १५/१६ मोडलका एसयूभी बजारमा आए । अहिले पनि बिक्रीको आधारमा पुराना मोडलले नै कब्जा जमाउन सफल भएका छन् ।

फेब्रुअरी २०२४ मा मारुती सुजुकी ब्रेजा १५ हजार ७५६ यूनिट बिक्री भएको छ । यसको बिक्री अघिल्लो वर्षको तुलनामा केही यूनिट बढेको हो । हुन्डाईले नयाँ क्रेटा भारतमा बिक्री सुरु गरेको कारण उसको विक्री ३३ प्रतिशतले वृद्धि भएर १५ हजार २७६ यूनिट पुगेको छ ।

त्यस्तै महिन्द्रा स्कर्पियो क्लासिक र एनको संयुक्त बिक्री १५ हजार ५१ यूनिट छ । कम्पनीको बिक्री २.२ गुणले वृद्धि भएको हो । टाटा नेक्सनको बिक्री १० प्रतिशतले वृद्धि भएर १४ हजार ३९५ यूनिट पुगेको छ ।


Back_to_top