काठमाडौं । हिरो मोटरसाइकलका ग्राहकले पार्टस्का लागि अझै २० दिन कुर्नु पर्ने भएको छ । सीजी मोटर्सले हिरोको डिलशिप लिएसँगै पुरानो डिलर एनजीएमबाट पार्टस् तथा सर्भिस नपाएका ग्राहकले अबको २० दिन भित्रमा समाधान पाउने भएका हुन् ।
सीजी मोटर्सले अवको १५ देखि २० दिन भित्रमा पार्टस् पुराना सबैजसो सर्भिस सेन्टरमा पार्टस् पुर्याउने गरि काम गरिरहेको बताएको हो ।
‘हामीले एलसी खोलेर पार्टस् अर्डर गरिसकेको छौं । अबको १५ दिनमा पार्टस् नेपाल आइपुग्छ । सर्भिस सेन्टरसम्म पुग्न २० दिन जति लाग्न सक्छ’, कम्पनीका जेनेरल मेनेजर प्रकाश देबकोटाले भने ।
कम्पनीले नयाँ सर्भिस सेन्टर तथा शोरुमको काम समेत अघि बढाइसकेको र पुराना सबैजसो सर्भिस सेन्टरमा पार्टस् पुग्ने बताउँदै, वारेन्टिका ग्राहकहरुले समेत पार्टस् सहजै पाउने जानकारी दिए ।
‘एनजीएमले लिएको वारेन्टिको अर्डर बाहेक नयाँ ग्राहकले तुरुन्तै पार्टस् पाउँछन् । तर, एनजीएमले वारेन्टिको सामान ल्याएर पनि ग्राहकले नपाएको विषयमा हिरो मोटोकर्पसँग कुरा भइरहेको छ त्यसको समाधानमा पनि हामी लागिरहेको छौ’ उनले भने ।
पछिल्लो समय एनजीएमले मोटरसाइकल वारेन्टिका पार्टस् उपलब्ध नगराउने भन्दै विज्ञप्ती नै निकालेको थियो । हाल हिरोका लाखौ ग्राहक पार्टस् नपाएर समस्या झेल्दै आएका छन् ।
लामो समय विवादमा रहेको हिरो मोटरसाइकलको डिलरशिप सीजी ग्रुप अन्तर्गतको सीजी मोर्टसले पाएको छ भने कम्पनीले अप्रिल २०२४ बाट मोटरसाइकल विक्री सुरु गर्ने भएको हो ।
मोटरसाइकलभन्दा पहिला पार्टस् ल्याएर ग्राहकको गुनासो सम्बोधन गर्ने तयारी गरिरहेको कम्पनीको भनाई छ ।


