करोड मूल्यका कार लाखमै !

काठमाडौं । आर्थिक मन्दीको असर कार बजारमा राम्रै देखिएको छ । पछिल्ला दुई वर्षमा नयाँ कारको बिक्रीमा उच्च गिरावट आएको प्रस्टै छ । नयाँ कारको बिक्रीमा उच्च गिरावट आएसँगै करोडौं मूल्यमा किनिएका महंगा कार लाखौंमा कारोबार हुन थलेका छन् ।

५० लाखदेखि ६५ लाख मूल्यका एसयूभी किन्नेहरु ईभीमा आकर्षित भएका छन् । अर्कोतर्फ करोड माथिका कारको ब्यापारमा पनि मन्दी देखिएको छ । ठूला र महंगा एसयूभी राख्नेहरुले पनि बेचेर विद्युतीय कार किन्न थालेको भेटिन्छन् ।

सेकेन्ड ह्याण्ड बजारमा पनि साना कारको बिक्री राम्रो रहेपनि ३० लाख माथिका कारको बिक्री निकै कमजोर रहेको बिक्रेताहरु बताउँछन् । केहि वर्ष अघिसम्म ठूला कार किन्ने पनि भेटिन्थे । अहिले कमै आउँछन् । महंगा कारको होल्डीङ टाइम निकै धेरै भएको कारण किनेर राख्न कठिन हुँदै गएको उनिहरुको भनाइ छ ।

‘हामीले सबै किसिमका गाडी राम्रैसँग लिइरहेका छौं । तर, साना कार सहजै बिक्री हुँदा ठूला कार बेच्नै कठिन अवस्था आएको छ । यद्यपि, कम मूल्यमा ठूला प्रिमियम गाडी चढ्न चाहनेको लागि यो उपयुक्त समय हो’, हाम्रो अटोमोवाइलका संचालक कुमार चिमोरियाले मेरोअटोसँग भने ।

अहिले बजारमा टोयोटा र्याभफोर, मित्शुवीसी आउटल्याण्डर, होन्डा सीआरभी, निसान एक्सट्रायल जस्ता एसयूभीहरु ६५ लाखदेखि ७५ लाख मूल्य भित्रै किन्न पाइने सेकेन्ड ह्याण्ड कार बिक्रेताहरुको भनाइ छ । यसले करोडौं मूल्यका एसयूभी निकै कम मूल्यमा किन्न पाइने अवस्था सृजना भएको हो । त्यति मात्रै होइन, ल्याण्डरोभर, ल्याण्डक्रुजर, फक्सवागेन टोरेक, फोर्ड इन्डेभर जस्ता ठूला एसयूभी पनि रिकन्डिसन बजारमा करोडभन्दा कम मूल्यमा नै किन्न पाइन्छ ।

‘२०१३ देखि १६ सम्ममा गाडी त ५० देखि ६० लाख भित्रै पाउने अवस्था आएको छ । यसको मुख्य कारण बजारमा देखिएको आर्थिक मन्दी भएको श्रेया अटोमोवाइका संचालन सचिन कुईँकेल बताउछन् ।

जे होस्, यदि तपाई पनि ठूला र बल्की एसयूभी किन्न चाहनु हुन्छ भने तपाईको लागि यो उपयुक्त समय हुन सक्छ ।


Back_to_top