काठमाडौं । नेपाली बजारमा कम्प्याक्ट मिडसाइज सेग्मेन्टमा ३ वटा ब्राण्डले उत्पादन गरेका पेट्रोल मोडललाई ईभी बनाइएका एसयूभी बिक्री हुन थालेका छन् । यी एसयूभी ‘बर्न इलेक्ट्रीक प्लेटफर्म’मा बनेका होइनन् ।
सुरुमा पेट्रोल इन्जिनमा बजारमा आएर पछि इलेक्ट्रीक बनेका एसयूभी हुन् । चलन चल्तीको भाषामा यसलाई ‘रेट्रोफिटेड ईभी’ पनि भन्ने गरिन्छ । सन् २०१९ देखि बजारमा उपलब्ध एमजीको जेडएस मोडल सुरुमा पेट्रोल इन्जिनमा थियो ।
नाडा अटो शो २०२३ बाट नेपालमा बिक्री सुरु भएको सेरेस-थ्री पनि डीएफएसके ग्लोरी ५६० मा आधारित ईभी हो । कम्पनीले सेरेस-थ्री मा रिव्याज गरेर इलेक्ट्रीक बनाएको हो ।
त्यसैगरी, अघिल्लो साताबाट बुकिङ सुरु भएको केईको एक्सथ्री प्रो ईभी पनि पेट्रोल एसयूभीलाई कन्भर्टेड ईभी भर्सन हो । कम्पनीले चेरी टिगो फोर प्रो मोडललाई केई ब्राण्डबाट ल्याएको हो ।
यी तीनै वटा एसयूभी ४.३ देखि ४.४ मिटर लम्बाईका छन् । यिनीहरुको चौडाई र उचाई पनि करिब समान छन् । ब्याट्री साइजमा पनि समानता रहेका यी ३ वटै ईभीको रेन्ज पनि लगभग उस्तै छ ।
यी तीनवटै मोडलको टप भेरियन्टमा रहेका फिचरहरुको बारेमा हामी यहाँ चर्चा गर्दैछौं ।
डायमेन्सनमा फरक
नेपालमा लामो समयदेखि सफलताको स्वाद चाख्दै आएको एमजी जेडएस ईभीको डायमेन्सन ४३२३/१८०९/१६४९ एमएम छ । सेरेस-थ्री को ४३८५/१८५०/१६५० एमएम तथा केई एक्स-थ्री प्रोको ४४४३/१८३१/१६४६ एमएम छ ।

लम्बाईमा केई एक्स-थ्री प्रो सबैभन्दा लामो छ । चौडाई र उचाईमा सेरेस-थी हल्का ठूलो छ । ह्वीलवेसको तुलना गर्दा जेडएस ईभीको २५८१, सेरेस-थ्रीको २६५५ र एक्स-थ्री प्रोको २६३२ एमएम छ ।
ग्राउण्ड क्लियरेन्स पनि सेरेसमा सबैभन्दा धेरै १९० एमएम छ । दोस्रोमा एक्स-थ्री प्रोको १८२ एमएम र तेस्रोमा जेडएस ईभीको १७५ एमएम छ । बुट स्पेसको तुलना गर्दा सबैभन्दा सानो एक्स-३ प्रोका ३६० लिटर छ । दोस्रोमा जेडएसमा ४७० र सेरेस-थ्रीमा ५२५ लिटर पाउन सकिन्छ ।

एमजीमा १७ इन्चको ह्वील छ । सेरेस र एक्स-थ्री प्रोमा १८ इन्चको ह्वील दिएको छ । यी ३ वटा मोडल मध्ये सेरेस–थ्रीको कुलतौल १७६५ केजी, एमजी जेडएस १६२० केजी र सबैभन्दा हलुका एक्स-थ्री प्रो १५२० केजी छ ।
ब्याट्री र मोटर पावर
ईभी भनेपछि व्याट्री र इलेक्ट्रीक मोटरमा सबैको चासो हुने नै भयो । ब्याट्री सबैभन्दा ठूलो केई एक्स-थ्रीमा ५३.६ किलोवाट आवरको छ । यो ब्याट्रीले एक पटकको फुल चार्जमा ३३० किलोमिटरसम्म रेन्ज दिने डब्लुएलटीपीले प्रमाणित गरेको छ ।

त्यस्तै एमजी र सेरेसमा ५१ र ५२.७ किलोवाट आवरको ब्याट्री प्याक पाउन सकिन्छ । यी दुबै एसयूभीको डब्लुएलटीपी रेन्ज ३२० किलोमिटर छ ।
इलेक्ट्रीक मोटरको तुलना गर्दा एक्स–थ्री प्रोमा १२० किलोवाटको मोटर छ । यसको मतलव पावर १६० हर्सपावर तथा २८० न्यूटन मिटर टर्क हो ।
एमजी जेडएस र सेरेस-थ्रीमा ९९ किलोवाटको मोटर छ । टर्कमा जेडएस ईभीले २८० एनएम र सेरेस-थ्रीले ३०० न्यूटन मिटर जेनेरेट गर्छ ।
क्याविन फिचर
तीनवटै ईभीमा मल्टी फङ्सनल स्टेरिङ ह्वील, डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, डिजिटल इन्फोटेन्मेन्ट स्कृन, ३६० डिग्री क्यामेरा, अटोमेटीक एसी, रियर एसी भेन्ट, पीएम २.५ एयर फिल्टर, ६ वटा स्पीकर, मल्टी ड्राइभिङ मोड, वायरलेस मोवाइल चार्जर पाउन सकिन्छ ।
त्यस्तै सबै मोडलमा सिक्सवे इलेक्ट्रीक एड्जस्टेबल ड्राइभर सिट छ । सेरेस र एमजीमा फ्रन्ट प्यासेन्जर सीट इलेक्ट्रीक छ । केई एक्स-थ्री प्रोमा म्यानुअल छ ।

सेरेस-थ्रीमा इन्ट्रुमेन्ट क्लस्टर र इन्फोटेन्मेन्ट स्कृन दुबै १०.२५ इन्चको छ भने एमजी र एक्स-थ्री प्रोमा इन्ट्रुमेन्ट क्लस्टर ७ इन्चको मात्रै छ । एमजीको इन्फोटेन्मेन्ट स्कृनको साइज १०.१ इन्च र एक्स-थ्री प्रोमा १०.२५ इन्चकै छ ।
यी ३ एसयूभी मध्ये मल्टी स्टेरिङ मोड सेरेस-थ्री मात्रै छ । एमजी र सेरेसमा प्यानारोमिक सनरुफ छ भने एक्स-थ्री प्रोमा प्यानारोमिक ग्लासरुफ मात्रै छ । सेरेस र एमजीमा हिटेड फ्रन्ट सिट छ । केईमा यो सुविधा छैन । त्यस्तै भेहिकल टु लोड फिचर एक्स-थ्री प्रोमा मात्रै पाउन सकिन्छ ।
सबैभन्दा आधुनिक एडास २.० फिचरहरु एमजी जेडएस ईभीमा मात्रै छ । सेरेस र केईको एसयूभीमा टायर प्रेसर मोनिटरीङ सिस्टम, इएसपी, इएबी, इबीडी, क्रुज कन्ट्रोल, रियर पार्किङ क्यामरा, पार्किङ सेन्सर, हिल असिस्ट, ट्रयाक्सन कन्ट्रोल, अटो होल्ड जस्ता अत्यावश्यक फिचर दिएको छ ।
सेरेस र एमजीमा ६ वटा एयरव्याग दिएको छ भने केई एक्स-थ्री प्रोमा ४ वटा मात्रै एयरव्याग छ ।
वारेन्टी
एमजीले जेडएस ईभी र सेरेस-थ्रीमा समान ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको ब्याट्रीमा र इलेक्ट्रीक मोटरमा ३ वर्ष वा १ लाख किलोमिटर जुन पहिला आउँछ, त्योसम्मको वारेन्टी छ ।
तर, केई एक्स-थ्री प्रोमा भने ब्याट्री, इलेक्ट्रीक मोटर तथा सबै इलेक्ट्रीक कम्पोनेन्टमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको वारेन्टी पाउन सकिन्छ ।
मूल्य
मूल्यको हिसाबमा हेर्दा पनि एमजी र सेरेसको टप भेरियन्टको मूल्य समान ५२ लाख ९९ हजार रुपैयाँ छ । तर, केईको टप भेरियन्टको मूल्य भने ४ लाख सस्तो अर्थात ४८ लाख ९६ हजार रुपैयाँ मात्रै छ ।
अन्त्यमा, नेपाली बजारमा उपलब्ध तीनवटै ईभीहरु अटोमोवाइलका स्थापित व्यापारीक घरानाले बिक्री गर्दै आएका छन् । त्यसैले यी ईभीहरुमा लाग्ने पाट्स र चाहिने आफ्टर सेल्स सर्भिसमा कुनै समस्या नआउने अनुमान गर्न सक्छौं ।
एमजीको आधिकारीक बिक्रेता विसाल ग्रुप र मुरारका ग्रुपले मिलेर बनाएको प्यारामाउण्ट मोटर हो । सेरेस एमएडब्लू ग्रुपले र केई लक्ष्मी ग्रुप अन्तर्गतको कम्पनीले ल्याएको हो ।

