काठमाडौं । ओला इलेक्ट्रीकले भारतीय बजारमा आफ्नो पहिलो इलेक्ट्रीक मोटरसाइकल देखाएको छ । सिंगल चार्जमा ५७९ किलोमिटरसम्म रेन्ज दिने मोटरसाइकल कम्पनीले देखाएको हो ।
कम्पनीले स्केलेवल प्लेटफर्ममा निर्माण गरेको ओलाको इलेक्ट्रीक मोटरसाइकललाई रोडस्टार नाम दिएर सार्वजनिक गरेको हो । जसको मूल्य ७५ हजारदेखि २ लाख ५० हजारसम्म कायम गरेको छ ।
कम्पनीले देखाएको मोटरसाइकलमा रोडस्टार, रोडस्टार एक्स र रोडस्टार प्रो गरी तीन मोडल छ । जुन मोडल अनुसार फरक ब्याट्री प्याकमा उपलब्ध हुने छन् ।
ओलाले आफ्नो इलेक्ट्रीक मोटरसाइकलको मूल्यसमेत सार्बजनिक गर्दै २०२५ र २६ साल भित्रमा एक एक गरी तीनवटै मोडल सार्बजनिक गर्ने घोषणा गरेको हो । कम्पनीले सुरुमा रोडस्टार अनि रोडस्टार एक्स र अन्त्यमा रोडस्टार प्रो मोडल ल्याउने छ ।
रोडस्टार वेस स्पेक, मिड स्पेक र टप स्पेक भेरियन्टमा उपलब्ध हुनेछ । जसमा ३.५ किलोवाट आवर, ४.५ किलोवाट आवर र ६ किलोवाट आवरको ब्याट्री प्याक अप्सन रहने छ । यसमा १३ किलोवाटको पावरपुल मोटर हुनेछ ।
यसको टप भेरियन्टले मात्र २ सेकेन्डमा ० देखि ४० किलोमिटर प्रति घण्टाको रफ्तार पकड्ने दावी कम्पनीको छ । यसको टप स्पीड १२६ किलोमिटर प्रति घण्टा र सिंगल चार्जमा २४८ किलोमिटर रेन्ज दिनेछ ।
रोडस्टारमा सबै एलइडी लाइट, चार राइडिङ मोड, अलोय ह्वील, टिएफटी टच स्क्रीन डिस्प्ले, क्रुज कन्ट्रोल, प्रोक्सिमिटी अनलक, स्मार्ट वाच एप, सिंगल च्यानल एबीएस र कर्नरिङ एबीएस जस्ता फिचर रहनेछन् ।
ओलाले रोडस्टार वेसको मूल्य १ लाख ५ हजार रुपैयाँ, मिडको १ लाख २० हजार रुपैयाँ र टपको १ लाख ४० हजार रुपैयाँ निर्धारण गरेको छ ।
त्यस्तै, रोडस्टार एक्स पनि वेस, मिड र टप गरी तीन भेरियन्टमा आउने छ । यसको वेस भेरियन्टमा २.५ किलोवाट आवरको ब्याट्री, मिडमा ३.५ र टपमा ४.५ किलोवाट आवरको ब्याट्री दिइने छ ।

कम्पनीले रोडस्टार एक्सको मूल्य ब्याट्रीप्याक अप्सन अनुसार क्रमशः ७५ हजार रुपैयाँ, ८५ हजार रुपैयाँ र १ लाख रुपैयाँ निर्धारण गरेको छ । यसको टप भेरियन्टमा १२४ किलोमिटर प्रति घण्टाको टप स्पीड हुनेछ । यसलाई पटकको फुल चार्जमा २०० किलोमिटरसम्म चलाउन सकिने छ ।
यसमा डिस्कब्रेक, कम्बी ब्रेकिङ सिस्टम, तीन राइड मोड, एलसीडी टच स्क्रीन डिस्प्ले, एलइडी लाइट, अलोय ह्वील जस्ता फिचर रहने छन् ।
त्यसैगरी, कम्पनीले देखाएको टप मोडल रोडस्टार प्रो दुई भेरियन्टमा आउने छ । यसमा ८ किलोवाट आवर र १६ किलोवाट आवरको ब्याट्रीप्याक रहने छ । यसमा ५२ किलोवाटको मोटर पावरफुल मोटर रहने छ । जसले १०५ एनएम पीक टर्क जेनेरेट गर्छ ।
ओला रोडस्टार प्रोको टप भेरियन्टले एक पटकको फुल चार्जमा ५७९ किलोमिटरसम्म रेन्ज दिने कम्पनीले दाबी गरेको छ । यसको टप स्पीड भने १९४ किलोमिटर प्रति घण्टा रहेको छ । यसले मात्र १.९ सेकेन्डमा ० देखि ६० किलोमिटरको स्पीड पकड्ने छ ।
यसमा १० इन्चको टिएफटी टच स्क्रीन, युएसडी फर्क, डबल च्यानल एबीएस, चार राइडिङ मोड, एडास फिचर, तीन स्टेपको ट्रयाक्सन कन्ट्रोल, कर्नरिङ एबीएस, ह्वील र स्टपी कन्ट्रोल सिस्टम जस्ता सुरक्षा फिचरहरु रहने छन् ।
कम्पनीले यसको लो भेरियन्टको मूल्य २ लाख रुपैयाँ र टपको २ लाख ५० हजार रुपैयाँ निर्धारण गरेको छ ।
यसका अलावा कम्पनीले आफ्नो इलेक्ट्रीक साधनका लागि नयाँ सफ्ट्वेयर मुभओएस ५ पनि सार्बजनिक गरेको छ । साथै, ओला म्याप्समा अब ग्रुप नेभिगेसन फिचर पनि पाइने भएको छ । ओलाका स्कुटरहरुमा एआईमा आधारित टायर प्रेसर मनिटरिङ सिस्टम फिचर समावेश गर्ने भएको छ ।


