यसकारण धेरैको मन जित्न सक्छ, महिन्द्र ‘एक्सयूभी–३००’ ले, हेर्नुस् ६ तथ्य

काठमाडौं । एकपटक पुनः अटो बजारमा कम्प्याक एसयूभीको चर्चा निकै बढेको छ । भारतीय बजारमा उत्पादन भएका कम्प्याक एसयूभीहरू नेपाली बजारमा पनि निकै चर्चामा रहेका छन् । त्यसमा पनि एसयूभी एक्सपर्टको उपमा पाएको भारतीय गाडी उत्पादक कम्पनी महिन्द्राले कम्प्याक एसयूभी उत्पादन गरेपछि चर्चा नहुने कुरै भएन । 

महिन्द्राले निकै अगाडि घोषणा गरेर उत्पादन सुरु गरेको मोडल (एस–२०१ कोड–नेम) रहेको गाडीको नाम गत १९ तारिखको दिन राखेको छ । उक्त गाडी अब ‘एक्सयूभी–३००’ को नामबाट आगामी फेब्रुअरीबाट बजारमा बिक्री–वितरण सुरु हुनेछ । 

कोरियन मोटर कम्पनी स्याङ्योङ्को कम्प्याक एसयूभी टिभोलीमा आधारित ‘एक्सयूभी–३००’ अपेक्षित मोडलको रुपमा लिइन्छ । ग्राहकको मागलाई मध्यनजर गर्दै कम्पनीले यसमा विविध सुविधा समेटेको छ । जसले यो सेग्मेन्टमा टाटा नेक्सन, फोर्ड ईकोस्पोर्ट, मारुती सुजुकी भिटारा ब्रेजा र हुन्डाई क्रेटाको बेस भेरिएन्टलाई कडा टक्कर दिने देखिएको छ । 

त्यसैले नेपाली बजारमा पनि ती प्रतिस्पर्धी गाडीहरू बिक्री–वितरण भइरहेकाले भारतीय बजारमा गाडीको फस्ट लूक्ससँगै विभिन्न कोणबाट तुलनात्मक रिपोर्टहरू आइरहेका छन् । हामीले यसैलाई आधार मानेर नयाँ एक्सयूभी–३०० मा भएका ६ विशेष तथ्यलाई यहाँ प्रस्तुत गरेका छौँ । 

नयाँ प्लाटफर्म र डिजाइन 

‘एक्स–१००’ अवधारणामा आधारित एक्सयूभी–३०० मोडल महिन्द्राको नासिक प्लान्टबाट उत्पादन गरिएको हो । यस एसयूभीमा बजार सुहाउँदो विशेषता समेटिएका छन् । यसको डिजाइन एक्सयूभी–५०० फेसलिफ्टको जस्तै आक्रामक रहेको छ । 

सनरुफको विशेषता

एक्सयूभी–३०० मा आकर्षक सनरुफ लगाइएको छ । साथै, यसमा एलईडी डेटाइम रनिङ्ग ल्याम्पको, पुश स्टार्ट–स्टप बटन, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोललगायतका विशेषता उपलब्ध छन् । 

यसमा प्रतिस्पर्धी मोडल सुजुकी भिटारा–ब्रेजा र फोर्ड ईकोस्पोटमा समावेश विभिन्न फिचर समेटिएको छ । साथै, कम्पनीले गाडीको क्याबिन भने आफ्नो लेटेस्ट एमपीभी मराजोको जस्तै आकर्षक बनाएको छ ।

सेफ्टी फिचर 

यसमा सेग्मेन्ट फस्र्ट सेफ्टी फिचर दिइएको विभिन्न भारतीय मिडियाले उल्लेख गरेका छन् । सात एयरब्याग, डिस्क–ब्रेक, १७ इन्च अलोय–ह्वील, ईएपी, ईबीडी तथा एबीएसजस्ता अत्याधुनिक विशेषताले एक्सयूभी–३०० सुसज्जित रहेको छ । सुरक्षा विशेषतालाई हेरेर गाडी खरिद गर्नेका लागि यो कम्प्याक एसयूभी पहिलो रोजाई हुनसक्छ । 

इन्जिन 

एक्सयूभी–३०० मा उपलब्ध १.५ लिटर फोर–सिलिन्डर डिजेल इन्जिनले १२१ बीएचपी पावरकासाथै ३०० एनएम–टर्क उत्पादन गर्छ । यसको इन्जिनमा सिक्स–स्पीड म्यानूअल र अटोमेटिक दुबै ट्रान्समिसन लगाइएको छ । 

मूल्य

यो एसयूभीलाई कम्पनीले टु–ह्वील र फोर–ह्वील ड्राइभ अप्सनमा बजारमा उतार्नेछ । यसको मूल्य भारतीय बजारमा ८ देखि १२ लाख भारु हुने सम्भावना रहेको छ । तर, अहिलेसम्म यसको आधिकारीक मूल्य भने कम्पनीले तोकेको छैन । यदि अनुमानीत भारतीय बजारको मूल्यअनुसार नै यो एसयूभी नेपाल आउने हो भने नेपाली बजारमा यसको सुरुवाती मूल्य ३८ लाख हाराहारीमा पर्ने अनुमान लगाउन सकिन्छ । 

इलेक्ट्रीक भर्सनमा पनि बन्दै 

कम्पनीले यस मोडलको इलेक्ट्रीक भर्सनसमेत उत्पादन गर्ने घोषणा गरिसकेको छ । कम्पनीले अहिले बनाउन सुरु गरेको इलेक्ट्रीक मोडल ‘केयूभी–१००’ पछिमात्रै एक्सयूभी–३०० बनाउने जनाएको छ । ‘मेस्मा–२’ अवधारणामा निर्माण हुने यसको इलेक्ट्रीक भर्सनमा १५० किलोवाटको ब्याट्री लगाउने कम्पनीले जनाएको छ । 


Back_to_top