काठमाडौं । चिनियाँ इभी उत्पादक जीएसी मोटर्सले ३० हजार ‘रेभुलुसन पर मिनेट’ भएको नयाँ इलेक्ट्रीक मोटर बनाएको छ । जीएसीले ‘हाइप टेक’ ब्राण्डमा क्वार्क इलेक्ट्रीक ड्राइभ २.० मोटर बनाउन थालेको हो ।
कम्पनीले बनाएको उक्त मोटर विश्वकै सबैभन्दा धेरै स्पीड भएको इलेक्ट्रीक मोटर मानिन्छ । कम्पनीका अनुसार उक्त मोटरको पावर डेन्सीेटी १२ किलोवाट प्रतिकेजी छ । यसको इफिसीयन्सी ९८.५ प्रतिशत रहेको कम्पनीले दावी गरेको छ ।
यसमा सफ्ट म्याग्नेट नाम भएको स्पेशल मेटेरियलको प्रयोग भएको छ । लिक्वीड मेटल समेत भनिने यो मेटीरियलको प्रयोग भएकोले ईभीको ब्याट्री साइज नबढाइकन पनि ५० किलोमिटरसम्म थप्न सकिने कम्पनीको भनाइ छ ।
उक्त मोटर इआरईभीमा प्रयोग गरेको खण्डमा १५० किलोमिटरसम्म रेन्ज थपिने छ । यसको सहयोगमा अल ह्वील ड्राइभ कारमा पनि टु ह्वील ड्राइभकै जस्तो रेन्ज पाइने छ । जीएसीका अनुसार यो नयाँ मोटरले वार्षिक रुपमा ९० बिलियन किलोवाट आवर बराबरको इलेक्ट्रीसीटी बचाउने छ ।
जीएसी क्वार्क इलेक्ट्रीक ड्राइभ २.० मोटर सुरुवातमा हाइटेक मोडलहरुमा प्रयोग हुनेछ । यहि महिनाको सुरुवातमा कम्पनीले नयाँ जेनेरेशनको स्मार्ट डिजिटल च्यासिस सार्वजनिक गरेको थियो । यसको न्यूनतम टर्निङ रेडियस ३.४ मिटर रहेको छ ।
कम्पनीले ल्याएको नयाँ च्यासिसमा टर्न रेडियस ४० प्रतिशतले घटेको छ । यो च्यासिसमा पहिलो ‘फिउजन इलेक्ट्रोनीक डिफ्रेन्सीयल लक सिस्टम’समेत छ । यसको सहायताले टु ह्वील ड्राइभ मै पनि गाडीलाई सजिलै खराब सडकमा पनि चलाएर जान सकिन्छ ।


