प्लगइन हाइब्रिड कारको इलेक्ट्रीक रेन्ज ४०० किलोमिटर

काठमाडौं । अहिले बजारमा उपलब्ध प्लगइन हाइब्रिड कारको रेन्ज १०० किलोमिटर आसपास मात्रै छ । अब आउने हाइब्रिड कारहरु ४०० किलोमिटरसम्म रेन्ज दिने छन् ।

विश्वकै ठूलो ब्याट्री उत्पादक सीएटीएलले हाइब्रिड कारमा क्रान्ति ल्याउने ब्याट्री तयार पारेको हो । यसको ब्याट्री रेन्ज धेरै मात्रै होइन, तिब्र गतिमा चार्ज पनि हुनेछन् । चीनमा बढ्दो हाइब्रिड कारको बजारलाई थप प्रतिस्पर्धी बनाउन नयाँ ‘फ्रिभोय सुपर हाइब्रिड ब्याट्री’ ल्याएको सीएटीएलको भनाइ छ ।

कम्पनीको दावी अनुसार नयाँ ब्याट्रीलाई १० मिनेट चार्ज गर्दा २८० किलोमिटर गुड्न पुग्ने रिचार्ज हुन्छ । फोरसी सुपर चार्जिङ सपोर्ट गर्ने ब्याट्रीले हाइब्रिड कारको बजारमा ठूलो परिवर्तन ल्याउने कम्पनीले दावी गरेको छ ।

निकै चिसो र उच्च तापक्रम भएको क्षेत्रमा पनि उत्कृष्ट पर्फर्मेन्स गर्न सक्ने नयाँ ब्याट्री रेन्ज एक्सटेन्डेड मोडल र प्लगइन हाइब्रिड दुबैको लागि प्रयोग हुनेछ ।

फ्रिभोय ब्याट्रीमा ‘नानोस्केल प्रोटेक्टीभ लेयर’ दिइएको छ । यसको प्रयोगबाट ब्याट्रीले मल्टी लेभल पावर कन्ट्रोल गर्न सक्छ । यो ब्याट्री सोडियम आयोन टेक्नोलोजीसँग जोडिएको छ । यसलाई डिस्चार्ज गर्न माइनस ४० डिग्री तापक्रम चाहिन्छ ।

सुरक्षाको लागि ब्याट्रीमा एनपी २.० टेक्नोलोजी यसले धुवाँ र हाइ प्रेसर सिस्टममा पनि ब्याट्रीलाई सुरक्षीत राख्नेछ । कम्पनीका अनुसार अहिलेसम्म नयाँ ब्याट्री एलआई अटो, अवतार, दीपल, चांगान र नेटा ब्राण्डले प्रयोग गर्ने भएका छन् ।

नयाँ ब्याट्रीको प्रयोगसँगै प्लगइन हाइब्रिड कारको बजार थप तिब्र गतिमा विस्तार हुने अपेक्षा कम्पनीले लिएको छ ।


Back_to_top