इलेक्ट्रीक सुपर एसयूभी ल्याउँदै मर्सिडिज, बेन्टलेको लग्जरी मोडल आउने

काठमाडौं । जर्मनी लग्जरी कार ब्राण्ड मर्सिडिज ग्रुपले ‘इलेक्ट्रीक सुपर एसयूभी’ उत्पादन गर्ने भएको छ । मर्सिडिजको ‘एएमजी इए प्लेटफर्म’मा सुपर एसयूभी बनाउने भएको हो ।

मर्सिडिजले सुपर एसयूभी सन् २०२६ सम्ममा बजारमा ल्याउने अनुमान गरिएको छ । मर्सिडिजले नयाँ एसयूभीमा ‘यासा’ले बनाएको एड्भान्स इलेक्ट्रीक मोटर प्रयोग गर्नेछ ।

यासाले बनाएको उक्त मोटर केबल २४ केजीको तौलमा हुनेछ । थोरै तौल भएपनि यसले ४८० हर्सपावर प्रदान गर्छ । मर्सिडिजले सुपर एसयूभीमा अगाडि र पछाडि दुबै एक्सलमा मोटर दिनेछ । कम्पनीले बनाएको नयाँ एएमजी ईए प्लेटफर्ममा १ हजार हर्स पावरसम्मका मोटर र इन्जिन सजिलै प्रयोग गर्न मिल्नेछ ।

नयाँ सुपर एसयूभी ८०० भोल्ड आर्किटेक्चरमा निर्माण गर्ने र सिलीकल एनोड ब्याट्रीको प्रयोग गर्ने कम्पनीको भनाइ छ । सन् २०२२ मा देखाएको भिजन कन्सेप्टको आधारमा बन्ने एसयूभीको लम्बाई ५.१ मिटर र ह्वीलवेस ३००० एमएम लामो हुनेछ ।

त्यस्तै अर्को युरोपियन ब्राण्ड बेन्टलेले पनि इलेक्ट्रीक एसयूभी छिटै लन्च गर्ने भएको छ । कम्पनीले एक टिजर सार्वजनिक गर्दै नयाँ इलेक्ट्रीक एसयूभी आउने जानकारी दिएको हो ।

सन् २०२६ सम्ममा पहिलो एसयूभी लन्च गर्ने योजनामा रहेको कम्पनीले आगामी दशक भित्र प्लगइन हाइब्रिड र ईभी गरी नयाँ १० मोडल लन्च गर्ने योजना सार्वजनिक गरहेको थियो ।

बेन्टलेले टिजर स्केच सार्वजनिक गर्दै नयाँ ईभी विश्वको पहिलो लग्जरी अर्वान एसयूभी हुने जनाएको छ । कम्पनीले नयाँ एसयूभीको डिजाइन, डेभलपमेन्ट तथा प्रोडक्सन सबै बेन्टलेको क्रु फ्याक्ट्रीमा गर्नेछ ।

बेन्टलेको नयाँ ईभी फक्सवागेन ग्रुपको अउडी र पोर्श्चेले संयुक्त रुपमा विकास गरेको पीपीई बेस्पोक इलेक्ट्रीक प्लेटफर्ममा बन्नेछ । बेन्टलेले ल्याउने नयाँ मोडलको सिधा प्रतिस्पर्धा अर्को लग्जरी ब्राण्ड रोल्स रोयल्सको स्प्रेक्ट्रा कुप्पे ईभीसँग हुनेछ ।


Back_to_top