काठमाडौं । अमेरिकी बजारलाई मध्यनजर गर्दै क्यानडामा आफ्नो प्रोडक्सन प्लान्ट स्थापना गर्ने योजनाबाट चिनियाँ ब्राण्ड बीवाइडी पछाडि हटेको समाचार अटोमोटीभ न्यूजले प्रकाशित गरेको छ ।
अमेरिकी राष्ट्रपति जोय बाइडेन प्रशासनले चिनियाँ ईभीलाई १०० प्रतिशत अतिरिक्त कर लगाएसँगै क्यानडाले पनि त्यतिनै कर लगाउने घोषणा गरेको थियो । उक्त घोषणासँगै बीवाइडी पछाडि हटेको रिपोर्टमा उल्लेख गरिएको छ ।
‘उच्च कर लगाइएको कारण प्रतिस्पर्धी मूल्यमा बीवाइडीले ईभी बिक्री गर्न नसक्ने भएसँगै उसले क्यानडामा प्लान्ट लगाउने आफ्नो योजना स्थगित गरेको हो’, रिपोर्टमा भनिएको छ ।
आगामी डिट्रोइट अटो शो मार्फत उत्तर अमेरिका प्रबेशको योजना बनाएको बीवाइडी अब कसरी अगाडि बढ्छ भन्ने विषयमा केही उल्लेख गरिएको छैन ।
तत्काल क्यानडामा प्लान्ट लगाउने योजना स्थगित गरेको बीवाइडीले आफ्ना कारहरु भने क्यानडामा बिक्री सुरु गर्ने जनाएको छ । अटोमोटीभ न्यूजको रिपोर्टमा उल्लेख गरेअनुसार बीवाइडीले क्यानडामा डिलर नेटवर्क निर्माणको काम जारी राखेको छ ।


