काठमाडौं । जापानी मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी होन्डाले भारतीय बजारमा आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर १७ दिनपछि बजारमा उतार्ने भएको छ । आगामी नोभेम्बर २७ मा कम्पनीले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने भएको हो ।
कम्पनीले पहिलो पटक इटालीको मिलानमा भएको ‘इक्मा अटो शो २०२४’मा देखाएको एक्टिभा इलेक्ट्रीक स्कुटर भारतमा देखाउने भएको हो । होन्डा इन्डियाले २०२५ को मार्चदेखि आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर बिक्री सुरू गर्ने भएको हो ।
होन्डा एक्टिभा स्वाप गर्न मिल्ने १.३ किलोवाट आवरको ब्याट्री प्याकमा उपलब्ध हुनेछ । एक पटकको फुल चार्जमा यो स्कुटरले ७० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले दावी गरेको छ । साथै, यसमा ११० सीसी पेट्रोल क्षमता बराबरको पावरफुल मोटर प्रयोग गरिएको छ । यस मोटरले ६ किलोवाटको पिक टर्क जेनेरेट गर्छ भने यसको टप स्पीड ८० किलोमिटर प्रतिघण्टा रहेको छ ।
कम्पनीले एड्भान्स फिचरको रुपमा ओभर द एयर (ओटीए) टेक्नोलोजी पनि दिएको छ । यस टेक्नोलोजीले स्कुटर अटोमेटिक रुपमा आफै अपडेट हुनेछ, भने यसले नजिकै रहेको चार्जिङ स्टेशन जान चालकलाई आफैँ गाइड गर्नेछ ।
त्यस्तै, एक्टिभा स्कुटरमा ७ इन्चको डिजिटल टीएफटी इन्स्ट्रुमेन्ट कन्सोल, स्मार्टफोन कनेक्टिभिट सिस्टम, नेभिगेसन, पुरा एलइडी लाइट सेटअप, टाइप सी युएसबी चार्जिङ पोर्ट, तीन किसिमका राइड मोड, रिभर्स मोड र किलेस स्टार्ट जस्ता फिचरहरु छन् ।
यो स्कुटर भारतीय बजारमा १ लाख रुपैयाँ हाराहारी मूल्यमा बिक्री सुरु हुने अनुमान गरिएको छ ।


