काठमाडौं । नेपालमा सरकारी नीतिको शिकार भएको हुन्डाई आयोनिक-५ दुई कारण विश्वभर चर्चामा रहेको क्रसओभर मोडल हो । ग्लोबल मार्केटमा मासिक १५ देखि २० हजार युनिटसम्म बिक्री हुँदै आएको आयोनिक-५ मूल्य, फिचर र डिजाइनको आधारमा समकालीन मोडलभन्दा अब्बल मानिन्छ ।
यसले आफ्नो तीव्र चार्जिङ क्षमताको कारण प्रसिद्धि कमाइरहेको छ । अमेरिकी बजारमा टेस्लाको सुपर चार्जरमा होस् वा बेलायतमा सरकारी चार्जरको प्रयोगमा होस् आयोनिक-५ अहिलेसम्म बनेका ईभीमा सबैभन्दा तीव्र चार्जिङ क्षमता भएको मोडल मानिन्छ ।
दोस्रो यसको चर्चा हुनुको कारण भेरियन्टमा विविधता हुनु हो । कम्पनीले यसलाई रेगुलर मोडल, रोबोट्याक्सीदेखि पर्फमेन्स मोडलसम्म बनाएको छ । त्यसैले सबै किसिमका गाडी चाहनेहरू बीच यसको चर्चा हुन्छ । आयोनिक-५ अमेरिकी ड्राइभिङ लाइसेन्स परीक्षा पास गर्ने पहिलो कार पनि हो ।

यूरोप र अमेरिकामा खुबै चर्चा हुने आयोनिक-५ नेपालमा पनि सन् २०२२ मा राम्रो बिक्री भएको मोडल हो । लक्ष्मी इन्टरकन्टिनेन्टलले ८० लाख रुपैयाँ मूल्य तोकेर बिक्री सुरु गरेको आयोनिक-५ राम्रो संख्यामा बिक्री भएको थियो । तर, सरकारले १०० किलोवाट माथिका ईभीमा कर बढाएसँगै यसको मूल्य ८० लाखबाट १ करोड १७ लाख पुग्यो ।
यसअघि बजारमा ८० लाखमा बिक्री भएको मोडललाई बजेट आएको भोलिपल्टैबाट ३७ लाख रुपैयाँ बढी खर्चने कुरै भएन । यसको बिक्री ठप्प भयो । अन्य कम्पनीले बजेटपछि १७० किलोवाट मोटर क्षमता भएका गाडी पनि १०० किलोवाटभन्दा तल ल्याए । तर, १२५ किलोवाट क्षमताको मोटर जडित आयोनिक-५ को मोटर पावर घटेर आएन ।
अर्को बजेट २०८०/८१ ले फेरी करको दर हेरफेर गर्यो । आयोनिक-५ को मूल्य घट्यो । कम्पनीले १ करोड ३ लाख मूल्य कायम गरेर यसको बिक्री थाल्यो । करिब १४ लाख मूल्य घटेसँगै आयोनिक-५ हेर्नेहरू केही बढे । अहिले अन्य ब्राण्ड जस्तै आयोनिक-५ पनि १०० किलोवाटको मोटरमा आउने भयो । सिंगापुरको लागि १०० किलोवाट बनाउनै पर्ने बाध्यतामा हुन्डाई परेसँगै नेपालमा पनि सानो मोटरमा आयोनिक-५ उपलब्ध हुने भएको हो ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले पनि १०० किलोवाटमा आउने आयोनिक-५ को मूल्य घोषणा गरिसकेको छ । नयाँ मूल्य ९२ लाख ९६ हजार तोकिएको छ । यसको मतलब थप ११ लाख रुपैयाँ मूल्य घटेको हो ।
३७ लाखको उतरचढाव
एउटा कार खरिद गर्ने उपभोक्ताको नजरबाट हेर्ने हो भने यो अस्वभाविक मूल्य तलमाथिले आर्थिक क्षती बढाएको छ । यदि, तपाईंले १ करोड १७ लाखमा आयोनिक-५ किन्नु भएको थियो भने तपाईंले यस बीचमा २५ लाख रुपैयाँ गुमाउनु भयो भन्दा फरक पर्दैन ।

होइन तपाईंले ८० लाख मूल्य हुँदा आयोनिक-५ किन्नु भएको थियो भने अहिले पनि मूल्य थपघटको कारण तपाईंलाई फाइदा नै भएको छ । यदि, तपाईंले १ करोड ३ लाख रुपैयाँ मूल्य हुँदा आयोनिक-५ किन्नु भएको थियो भने केही महिनाको बीचमै तपाईंको गाडीको मूल्य ११ लाख रुपैयाँले घटेको छ ।
नयाँ मूल्य र मोटरले लय लिने अवस्था
विद्युतीय कारको मूल्य उतरचढाव सबैभन्दा धेरै सरकारी करकै कारण भएको हो । यहाँ गाडीको मूल्य घट्ने चलन नै छैन । यदि कसैले घटाए पनि त्यसले गल्ती गर्यो भन्ने प्रतिस्पर्धी छन् ।
सरकारी नीतिको शिकार भएको आयोनिक-५ अब दुई मोटर अप्सन र दुई मूल्यमा उपलब्ध हुनेछ । मूल्य र मोटर पावर बाहेक अन्य परिवर्तन नभएको कारण कालान्तरमा १२५ किलोवाटको आयोनिक-५ बजारमा उपलब्ध हुने विषयमा शंका गर्न सकिन्छ । तर, नयाँ मूल्यले यसको बिक्रीमा पक्कै उत्साह ल्याउने छ । अन्य ब्राण्ड र मोडल सरह यसले पनि लय समात्नेमा विश्वास गर्न सकिन्छ ।


