काठमाडौं । हुन्डाईको सबैभन्दा सफल मोडल क्रेटाको ईभी भर्सन आगामी वर्षको सुरुआतमै लन्च हुने निश्चित भएको छ । कम्पनीले सन् २०२५ को जनवरीमा नयाँ दिल्लीमा आयोजना हुने भारत मोबिलीटी शोमा क्रेटा ईभी लन्च गर्ने भएको हो ।
भारतमा लन्च भए लगत्तै नेपालमा पनि उक्त ईभी आउने छ । नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटा ईभी भित्र्याउने तयारी भइरहेको बताएको छ ।
क्रेटा ईभीमा इन्टेरियर र एक्टेरियरमा पछिल्लो समय लन्च भएको फेसलिफ्ट क्रेटाकै फिचरहरू हुने अपेक्षा गरिएको छ । यसमा प्राक्टिकल फिचरको कुनै अभाव हुने छैन । यसको एक्टेरियरमा रिडिजाइन गरिएको फ्रन्ट र रियर बम्पर, क्लोजअफ फ्रन्ट ग्रिल, १८ इन्चको एरो इन्सर्ट ह्वील आईस क्रेटा भन्दा फरक पाइनेछ । यसको एलईडी हेडल्याम्प र टेलल्याम्प भने स्ट्याण्डर्ड क्रेटाकै सिग्नेचर लुक्समा रहनेछ ।

क्रेटा ईभीको इन्टेरियरमा आईसी क्रेटाको जस्तै धेरै फिचरहरूमा समानता रहनेछ । यसको ड्यासबोर्डमा १०.२५ इन्चको दुईवटा कनेक्टेड डिस्प्ले रहेको छ । युनिक स्टाइलको स्टेरिङ ह्वील र स्टेरिङ कोलुममै रहेको ड्राइभ मोड सेलेक्टरले चालकलाई निकै सजिलो बनाउनेछ ।
यसमा अन्य फिचरहरूको रूपमा भेन्टिलेटेड फ्रन्टसिट, प्यानारोमिक सनरुफ, अटोमेटिक क्लाइमेट कन्ट्रोल, ३६० डिग्री क्यामरा तथा वायरलेस चार्जिङ प्याड आइस क्रेटाकै समान रहेको छ । सुरक्षाका लागि यो ईभीमा ६ वटा एयरब्याग तथा लेबल २ एडास सिस्टम रहने छ ।

हुन्डाईले क्रेटामा कोना ईभीमा प्रयोग भएको १०० किलोवाटको इलेक्ट्रीक मोटर दिने बताइसकेको छ । ४५ किलोवाट आवरको ब्याट्रीप्याक प्रयोग भएको यो ईभीले ४५० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । नेपाली सडकमा भने २५० किलोमिटरसम्म रेन्ज पाउन सकिनेछ ।
क्रेटा ईभीमा डीसी फास्ट चार्जर सपोर्ट गर्नेछ । यसमा भेहिकल टु लोड तथा भेहिकल टु भेहिकल जस्ता एड्भान्स चार्जिङ फिचर समेत रहने छ । हुन्डाईले क्रेटा ईभीमा क्रेटा आइस बनाउँदा प्रयोग भएको के २ आर्किटेक्चरलाई ब्याट्री तथा ईभी कम्पोनेन्टहरू इन्ट्रीग्रेट हुने गरी मोडिफाइ गरेको जनाएको छ ।
कम्प्याक्ट एसयूभी सेग्मेन्टमा धेरैको रोजाइ भएको क्रेटा, ईभी पावरट्रेनमा आउदा पनि राम्रो बजार पाउने अनुमान गर्न सकिन्छ । नेपाली बजारमा चिनियाँ ईभीको ठूलो प्रभाव रहेकोमा भातमा उत्पादन भएको क्रेटा ईभीले निकै प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।

विशेषत चिनियाँ कम्प्याक्ट एसयूभीहरूमा ५० किलोवाटको ब्याट्रीप्याक स्ट्याण्डर्ड रूपमा रहेकोमा क्रेटा ईभीमा भने ४५ किलोवाट आवरको मात्र ब्याट्रीप्याक छ । यो सेग्मेन्टका अन्य ईभीकोभन्दा रेन्ज भने पक्कै क्रेटाको कम हुनेछ । तर, हुन्डाईको नेपाली बजारमा रहेको ब्राण्ड लोयल्टी तथा कोनो ईभी र आयोनिक ईभीलाई पनि रुचाइएका कारण क्रेटा इलेक्ट्रीक कम्प्याक्ट एसयूभी खरिद गर्ने ग्राहकको अप्सनमा भने पक्कै पर्नेछ ।
क्रेटा ईभीले नेपाली बजारमा एमजी जेडएस ईभी, महिन्द्रा एक्सयूभी ४००, सेरेस ईथ्री, केई एक्सथ्री प्रो देखि एटो ३ र ओमोडाको लोअर भेरियन्ट सम्म प्रतिस्पर्धा गर्नेछ । अर्को प्रतिस्पर्धी मोडल छिटै नै नेपाल भित्रने मारुती सुजुकी ग्राण्ड भिटारा ईभी पनि हुनेछ । भारतीय बजारमा सुरूआती मूल्य १८ लाखमा लन्च हुने क्रेटा ईभी नेपालमा आइपुग्दा ५० देखि ५५ लाखको हाराहारीमा आउने अनुमान गर्न सकिन्छ छ ।


